काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेकाे छ।
मलेसियाको यूएसडी यूकेएम ओभलमा आइतबार भएकाे खेलमा नेपालले सिंगापुरलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । याे जितसँगै सूमह ‘डी’को नेपालले चार अंक जोडेको छ । दुवै खेलमा पराजित सिंगापुर अंकविहीन बनेकाे हाे ।
नेपालले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रनको योगदान गरेकी हुन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि अनु कडायतले तीन तथा मनिषा उपाध्याय र रिया शर्माले दुई–दुई विकेट लिए । कप्तान सोनी पाख्रिनको नाममा एक विकेट रह्यो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाइ १ सय ९९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि साना प्रवीनले ७० बलमा १३ चौकाको मद्दतले सर्वाधिक ९८ रनको योगदान गरेकी हुन् । यसैगरी, सावित्री धामीले ५३ बलमा १३ चौकासहित ७८ रन जोडेका छन् । पहिलो खेलमा नेपालले कतारलाई १ सय ५ रनले हराउँदा सिंंगापुर हङकङसँग तीन विकेटले पराजित भएको थियो ।
नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्