विचरो काङ्ग्रेस ! • Image Khabar Image Khabar


विचरो काङ्ग्रेस !


Imagekhabar
३० श्रावण २०७३, आईतवार १५:०९

विचरो काङ्ग्रेस  !

नरेन्द्रराज पौडेल –

सामान्य चरोमात्र भैदिएको भए कांग्रेस भुर्र उड्थ्यो । हाँगा पातहरुमा टुक्रुक्क बसेर चिर्बिर चिर्बिर गाउँथ्यो  । अझ असामान्य चरो नै भए त झन लामा पखेटा फटफटाएर माथिमाथि पुग्थ्यो । नित्य नयाँ हावामा सास फेरेर पूmर्तिलो हुन्थ्यो । ताजा देखिने सूर्यको प्रकाशले नुहाएर स्वच्छ बन्थ्यो । ताजा फल टिपेर उदरपूर्ति गर्दथ्यो । स्वल्पाहारमै सन्तोषी बन्थ्यो । अतिचारको अतिसारले छुँदैनथ्यो । सधैं मति सप्रिने थियो । सफासुग्घर भैरहनाले कल्मष –क्लेशले भेट्दैनथ्यो । दुर्मतिले बास नगर्दा हुर्मत जति पाखा पन्छिने थिएन । सर्धै इज्जतदार रहन्थ्यो । अझ चरोको ठाउँमा बञ्चरो नै भैदिएको भए पनि काङ्ग्रेसले जनताका शत्रुका थाप्ला हुँदि बज्रिदै बजाउँदै गर्ने थियो । शायद त्यो सब गर्न नसकेर होला –कुनै खाले चरो बन्न नसकेर विचरो बनेको छ आज नेपाली कांग्रेस ।

आन्तरिक कलहको दग्धीले काङ्ग्रेसको देही थलिएको छ । दर्विलो छहारी र भरसिलो नेतृत्व न पाउँदा अर्काको पछि लाग्ने बानी परेको छ । सुकेनासले सुइखुट्टे बनेको काङ्ग्रेस आफ्नो सोझो गरी उभिन पनि अरुको सहारा खोज्दै धर्मराउन थालेको छ । विचार बएलिँदै जाँदा सासै पनि हस्स गनाउन थालेको छ । बुद्धिमा टुसा पलाउनुको सट्टा ऐँजेरु उम्रिदै गएछन  । थिङ्कट्याङ्क भत्किएर गोलखाडी बन्न पुगेछ । क्षयरोगले संगठन खिइँदै गएछ । बलियाबाङ्गा जति मूलघर छोडेर भिन्नु बस्ने भएछन । कतिले ठाउँ नै छोडेर कुठाउँतिर कुइँचमार गरेछन । कति मैदानबाट पलायन हँदै विदेशका ग्यास स्टेशन समाल्न पुगेछन र पीजा बर्गरको स्वाद रोज्नेमा परेछन । जे जति हितचिन्तक बाँकी रहे, तिनले पनि कर्णधारको काँध थाप्न सकेनन । फलस्वरुप आधारहीन र सहाराविहीन बन्दै गएको छ आज कांग्रेस । यस्तो दुर्गति भइसक्ता पनि दुइचार बचेखुचेका हितैषीले भनेको पनि सुन्दैन । आफ्नो विचारकित्ताका लेखक बुद्धिजीवि वकील प्राध्यापक कसैले लेखेको पढदैन र सल्लाह सुझाव पनि पचाउँदैन । मन्दमति बनेर अज्ञानताको मोहजालमा माकुराकै पाराले अल्झिएको छ आजको नेपाली काङ्ग्रेस ।

सात सालदेखि छयालीस सालसम्मको कालखण्डमा आफ्नै नेतृत्वको आन्दोलनले पटकैपिच्छे स्थापित गरेको संसदीय व्यवस्था बारम्बार असफल भएको मान्न समेत हिचकिचाउँछ कांग्रेस । त्यसैले नयाँ हावा, प्रकाश र विचारभन्दा पुरानै लुतो कनाएर चिलाइ मार्नमा रमाउँछ । आफ्नै सन्ततिले पटक पटक आफैलाई ठुङ्दा , चिथोर्दा र ङ्याक्ता पनि त्यसको दुर्गुण ठम्याउन सक्तैन, उल्टै विवेकहीन अन्धो बनेर मूढतामा रमाउँछ । नयाँ संसार हेर्ने, देख्ने र पहिचान गर्ने दृष्टिविन्दु धमिलो हुँदै गएछ ।  धोद्रो परेको बूढो रुखको टोड्काबासी अन्धकारमै रमाउने लाटो कोसेरो बनेको छ । बूढ्यौली लागेर पुराना दिन गन्दै बसेको एक्लो बिमार धनेस चरा झैं असहाय बनेको छ अजाको कांग्रेस ।

भाषण र भत्ताकै भ्रमजालमा फसेर सँधै भूँडी मुसार्ने कांगे्रस हिजो आज पनि सत्कर्ममा त्यति विश्वास गर्दैन । तर छिटपुट रुपमै भए पनि केही न केही छुल्याइँ बिठ्याइँ जस्ता कुकर्म चाहिँ नगरी बस्न सक्तैन । प्रजातन्त्र, मौलिक स्वतन्त्रता र बजारअर्थनीतिको गुड्डी हाँक्ने कांग्रेस व्यवहारमा उल्टो दिशा हिँड्दै नकचरो जीवन बाँचेको छ । सधै अन्तरविरोधमा मन बहालाएर वएली खेल्दैछ । विषाक्त बजार संस्कृतिको बाँधा बनेको कांग्रेस विदेशीले बनाइदिएका ठूला उद्योग, कारखाना र व्यवसाय केन्द्रलाई बेच्न अघि सर्छ । तर आफू सियो बनाउन तम्सिदैन । अनि भन्सार छलेर महगा पजेरो मार्का गाडीहरु झिकाएर जनताको पशिनामा होली खेल्दै एल्सेसन कुकुरको थुतुनु सुमसुम्याउन र म्वाइँ खान रुचाउँछ ।

कुनै विदेशीका दयामायामा ठूला आयोजना निर्माण हुने भए प्रीपेड शैलीमा व्यक्तिगत लिनु दिनुमै मोहित बन्दोभएछ । सांसद खरीदविक्री, सुत्केरीखर्चमा नौलो विश्वरेकर्ड बनाउन सफल कांग्रेस सत्ता अपचलन र सुकुले संस्कृतिको अनन्य नायक बनेको छ, इमान्दार खलनायक बनेको छ । यसै नायकत्वसंग खेलबाड गर्दै वीसबर्षे संसदीय कालखण्डलाई भोर्जुवामा भजाएको छ । साथीभाइलाई  कहील्यै न हेर्ने, न सहने बानी परेको छ यसलाई । सधैं व्यक्तिवादको आत्माघाती रोग पाल्दै आएको कांग्रेस अहिंसा र सत्यमा विश्वास गर्ने गान्धीवादी हुँ भन्दै गम्छा हल्ल्लाउन र चुच्चे टोपी ढल्काउन मजा मान्दछ । उद्योग, प्रतिष्ठान, व्यवसाय जति विदेशीलाई बेच्ने कांग्रेस स्वदेशी साधनको प्रयोग र आत्मनिर्भरताको अठार पुराण सुनाउँछ । नयाँ पिँडीका सचेत पुस्तालाई समेट्न र आकर्षित गर्नमा शून्य क्षमता भएको कांग्रेस सुद्धि हराएको सुद्द थाहा पाउँदैन । तर जुहारी कोट हल्लाउदै औंलो ठड्याएर सडकसुधारविस्तार कार्ययोजनाको विरोध गर्न अघि सर्छ । अरुको आँखामा विकासविरोधी हुस्सु र भाँडा बनेर भाषण ठोक्न तम्सिएको हुन्छ ।

जीवनको शैसवावस्थादेखि नै रुघाखोकी, जण्डीश, निमोनिया प्रभृति रोग सहँदै आएको कांग्रेस विदेशीका वाह्य घातप्रतिघात पनि संगसंगै व्यहोर्दैै आएको छ । शहीदहरुको अमूल्य वलिदानसहित वी.पी, सुवर्ण, गणेशमान जस्ता त्यागी योद्धाहरुको सहरा पाउँदा पनि शुरुदेखि नै आफ्नै बलबूतामा थेगिने बानी परेन । इतिहासमा कैयौ गुलेली सह्यो । गोली थाप्यो । खुकुरी दलका खुँडा, तरबार, बन्चराका आघात खप्दै आयो । कतिपय आफ्नै असावधानीले चोट चाख्नु पर्यो र खँजाहा बन्नु प¥यो । कतिपय आफ्नै दलभित्रका भातमाराहरुको अनविश्वासको जालमा फस्नु पर्यो । सात सालपछि एक दशकको अस्थिर राजनीतिमा कांग्रेस खासै सफल खेलाडी बन्न सकेन । सोह्र सालको अतीतलाई कोट्याउदा पनि आम निर्वाचनमा दुइ तिहाइ बहुमतको विजयले संसदीय अभ्यासमा अब्वल दर्जा हत्याउने कांग्रेस आफ्नै सन्तानको मातृघाती खुँडा सहन वाध्य भयो । महन्त नेता तुलसी गिरिले अर्का शिखण्डी विश्ववन्धुको सहायता लिएर आप्mनै सन्त नेता, पार्टी र सरकारमाथि अन्तरघातका छिना, गैंती ,मार्तोल बजारेर घायल बनाइ दिएथे । राज्य संचालनको वागडोर खोसेर राजा महेन्द्रमा सुम्पिएर बीपी गणेशमान प्रभृति नेताहरुलाई सत्ताच्युत गराउदै जेलभित्र कोचिदिएथे ।

छयालीस सालको दोस्रो जनआन्दोलनले ल्याएको संसदीय व्यवस्थामा काग्रेस चेत्नभन्दा पनि विचेत अवस्थामै बढी रह्यो । सरकार संचालनको शुरुवातमै ङार्रङुर्र चल्दै थिए । तर अलिदिनमै अन्तरघातका खुँडा, खुकुरी मजैले प्रयोग हुन थाले । आम निर्वाचनको लगत्तैपछि बनेको गिरिजा प्रसादको काङ्गे्रसी सरकारविरुद्ध सन्त नेता कृष्णप्रसाद पनि विपक्षी दलबलसहितको प्रतिनिधि मण्डल लिएर राजा विरेन्द्रसमक्ष पुगेका थिए । अनि आप्mनै पर्टीका प्रधानमन्त्रीलाई अपदस्थ गराएर राज्यको वागडोर आपैmं समालिदिन राजासमक्ष विन्ती विसाएका थिए ।

राजा महेन्द्रमा शासकीय इच्छाशक्ति, आँट र हुती रहेछ क्यार । उनले २०१७ सालमा महन्तनेता तुलसी गिरिको आडभरोसा पाउने वित्तिकै शाही घोषणाद्वारा दुइ तिहाइ बहुमतप्राप्त सरकार र संसदीय व्यवस्था समेत भङ्ग गरिदिएथे । साथै निर्दलीय पंचायती शासनव्यवस्था लागू गरेर किम इल सुङशैलीमा सर्वोच्च नायकदेखि शासकसम्म आफै बन्न पुगेका थिए । तर सतचालीस सालपछि आइपुग्दा राजा वीरेन्द्रमा तत्कालीन संसदीय व्यवस्था.भङ्ग गरेर एकलौटी आफनो स्वेच्छाचारी शासनव्यवस्था लागु गर्ने आँट , हुति र इच्छाशक्ति पनि देखिएन । त्यसैले राजा गुहारेर गिरिजा प्रसादलाई सत्ताबाट बेदख्खल गर्ने सन्त नेता कृष्णप्रसाद भट्टराइको इच्छा अरण्यरोदन सावित हुनपुग्यो । संसदीय व्यवस्थाको मर्म अनुसार नै संसदीय दलका नेता छानिएर प्रधानमन्त्रीको पद आवाद गर्न पुगेका गिरिजा प्रसादलाई तीन महिना न वित्दै कुर्सीवाट खँगारेर लघार्ने किसून जीको ग्याङको खुराफात अधुरै रहनगयो । तर यता एकलौटी नेतृत्व पाएर पनि सिङ्गो दशकसम्म सफल रुपले संसदीय व्यवस्था चलाउनमा गिरिजामार्का कांगे्रसी दल पनि असफलमात्र हैन नालायक सावित हुन पुग्यो ।

छपन्न सालको आमनिर्वाचनमा पूर्ण वहुमत  प्राप्त आप्mनै काग्रेस पार्टीको सरकार ढाल्न अर्का सन्तंचेला शेरवहादुर पनि सिखण्डी बनेर राजाको हातमा राजनीतिको वागडोरसँगै शासनसत्ता सुम्पिन पुगेका थिए । त्यही भस्मासुरी विध्वंसको  प्रहारमा परेका गाउँ ओडा , नगरपालिका र जिल्लाविकास समितिहरु हालसम्म पनि नेतृत्व र प्रतिनिधिविहीन रहेर पाखा– पछारिएका छन् । जनताका सेवाप्रद संस्थाहरु निमूर्ल पार्दै संसदीय व्यवस्थालाई दशकौंसम्म उठ्नै नसक्ने गरी भँड्खारोमा हाल्ने खलनायक शेर बहादूर नै हाल पनि पार्टीसभापति नाउँको गरिष्ठ उपाधिले विभूषित भै रहनु कांगे्रसभित्रको खडेरी, नियति, महानता या विडम्वना के चैं हुन सक्छ ?

कुनै राजनीतक धरातल नभएको राजा ज्ञानेन्द्रको माघेशासन पद्धतिको सूत्रपात गर्नमा स्वयं काङ्र्गे्रस नेता शेरबहादुर प्रमुख सूत्रधार थिए । सुरक्षासंयन्त्र र संसदवादी पार्टीनेताहरुले माओवादी विद्रोह र हत्या हिंसाको समाधान गर्न न सकेकोले नै त्यतिबेर सर्वसाधारण नागरिकहरुको बाँच्ने आड र भरोसा राजशाहीमाथि बढ्न गयो । तर केही समय सक्रिय रहेको राजशाहीले पनि जनताका माग र समस्या उपर तातोपानी लगाउन सकेन । परिणामस्वरुप तेस्रो जन आन्दोलनको अाँधीहुरीले राजशाही नै बढारेर समाप्त पारीदिएथ्यो । त्यतिबेर आप्mनो अलग पहिचान र अस्तित्व कायम गर्न नसकेर अरु पार्टीहरुकै हूलमूलमा काङ्ग्रेस पनि मिसिन पुग्यो । राजासंगै आफनो घाँटी जोडिएको छ भन्ने बीपीवादी कांग्रेस नक्कली प्वाँख भिरेको कौवा बनेर बैरीहरुको लहैलहैमा गणतन्त्रवादी बन्न पुग्यो । लहैलहैमा धर्मनिरपेक्षताको अन्धसमर्थन गर्दै अर्काकै बैशाखी टेकेर संघीयताको काँडाघारीमा हामफालेर होमियो । परिणामस्वरुप नानाथरी दंश झेल्दैमा आजित परेकोले आप्mनो आर्दश र पुख्र्यौली– मौलिक पहिचानवाट कांग्रेस झनझन तल झर्दै गएको छ । कुनै सरकार बनाउनु बन्नु र सहभागी हुनुको कुनै अर्थ छैन । जनताको नजरमा काङग्रेस सपना र–संवेदनाविहीन वेवारिस बुख्याँचा बन्दै गहीरो गर्तमा भास्सिदै गएको छ । त्यसैले त नीतिशास्त्रमा पनि भनिएको होला– “स्थानभ्रष्टाः न शोभन्ते दन्ताः केशाः नखा नराः” ।( अर्थात आफनो निश्चित स्थानबाट पतन भएपछि दाँत, कपाल , नङ र मान्छे शोभाविहीन निरर्थक  बन्दछ ।)आगे काङ्ग्रेस जनकै मर्जी !

प्रतिक्रिया दिनुहोस्