Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


पोखरा बसपार्क क्षेत्रमा ३ सय २५ परिवार भूमिहीन

२ सय ४२ परिवार अव्यवस्थित बसोबासी कायम

0
Shares

काठमाडाैं । पोखरा महानगरपालिका–९, पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ ।

महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका निम्ति निवेदन दिन सूचना गरेको थियो । त्यसपछि दावी विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणानुसार ३सय २५ परिवार भूमिहीनको सूचीमा परेका छन् । २ सय ४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयाे।

प्रमुख आचार्यले प्रारम्भिक रूपमा भूमिहीन दलितका २ , सुकुम्बासीका २ सय ४८ र अव्यवस्थित बसोबासीका १ सय १६ निवेदन प्राप्त भएका थिए । वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी–विरोध तथा संशोधनका निम्ति प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो ।

अन्तिम विवरणानुसार १ सय ४४ परिवार भूमिहीन दलित रहेका छन् । १ सय ८१ परिवार सुकुम्बासी रहेका हुन् । यसरी कूल ३ सय २५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २ सय ४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका हुन् ।

महानगर प्रमुख आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्वासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएकाे छ।

Skip This