११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


बार्सिलोना र आयाक्स सेमिफाइनलमा


0
Shares

काठमाडौं, वैशाख ४ । बार्सिलोना र आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति दुवै टिमले आ–आफ्नो खेलको नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । बार्सिलोनाले म्यानचेस्टर युनाइटेड र आयाक्सले युभेन्टस्माथि जित निकाल्दै अन्तिम चारको यात्रा पक्का गरेका हुन् ।

बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हराउँदै समग्रमा ४–० को जित निकालेको हो । पहिलो लेगमा १–० को अग्रता बनाएको बार्सिलोनालाई दोस्रो लेगमा ३–० को जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । 

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलको १६ औं मिनेटमा मेस्सीको गोलमार्फत अग्रता बनाएको बार्सिलोनाले २० औं मिनेटमा मेस्सीकै गोलमा अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाका लागि ६१ औं मिनेटमा कोउन्टिन्होले गोल गर्दै ३–० को सहज जित दिलाए ।

सन् २०१४÷१५ को सिजनपछि बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसैगरी युभेन्टसमाथि सनसनीपूर्ण जित निकाल्दै आयाक्स पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग एक–एक गोलको बराबरी भएकोमा युभेन्टसको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा आयाक्सले २–१ को जित निकाल्न सफल भयो । जसका कारण युभेन्टसमाथि समग्रमा ३–२ को जित निकाल्दै आयाक्स अन्तिम चारमा प्रवेश गरेको हो ।

युभेन्टस्का लागि क्रिस्टियानो रोनाल्डोले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेटमै आयाक्सका भान डेरले बराबरी गोल फर्काए ।

पहिलो हाफ १–१ को बराबरी भएको खेलको ६७औं मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाए । आयाक्स नवौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

अन्तिम पटक आयाक्स सन् १९९६ मा सेमिफाइनलमा पुगेको थियो । युभेन्टसले एकै सिजनमा युरोपियन प्रतियोगितामा दुई वटा खेल घरेलु मैदानमा हार्न पुग्यो । च्याम्पियन्स लिगमा आयाक्सको यो लगातार तेस्रो अवे जित हो ।