
काठमाडौं, साउन ३१ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा सोमबार चीन प्रस्थान गरेका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याललाई साथै लिएर चीन गएका हुन् ।
चीन जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै मन्त्री महराले आफ्नो भ्रमणको मुख्य उद्देश्य चीनसँगको सम्बन्ध सुदृढ गर्नु भएको बताए ।
उनले चीन भ्रमणकाक्रममा चिनियाँ नेतृत्वलाई नेपाल भ्रमणको निम्ता दिनुका साथै नेपालको आर्थिक विकासमा सहयोगको आग्रह पनि गरिने बताए ।
छेन्दु हुँदै चीनको बेइजिङ पुगेपछि अर्थमन्त्री महराले चीनको उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी आगामी भदौ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
मन्त्रिपरिषदको ४ दिन पहिले बसेको बैठकले दुई उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दूतकारुपमा भारत र चीन पठाउने निर्णय गरेको थियो ।
अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि भने बिहीबार भारत जाने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्