नेवि संघ निर्वाचनः अध्यक्षमा ८ जनाको उम्मेदवारी, को–को उठे ? • Image Khabar Image Khabar


नेवि संघ निर्वाचनः अध्यक्षमा ८ जनाको उम्मेदवारी, को–को उठे ?


Imagekhabar
३२ श्रावण २०७३, मंगलवार २१:१७

नेवि संघ निर्वाचनः अध्यक्षमा ८ जनाको उम्मेदवारी, को–को उठे ?

अपडेट
काठमाडौं, साउन ३२ । नेपाल विद्यार्थी संघको महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ ।

मनोनयनका लागि तोकिएको मंगलबार मध्याह्न १२ बजेसम्मको समयमा मतदानबाट चुनिने १२९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ ।

मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।

नेवि संघको जम्मा १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १२९ जना मतदानबाट र बाँकी मनोनीत गर्ने व्यवस्था विधानमा गरिएको छ ।

निर्वाचन समितिकाअनुसार अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट अध्यक्षमा नैनसिंह महरको उम्मेदवारी परेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्यको उम्मेदवारी परेको छ ।

यस्तै, आनन्दराज त्रिपाठी, पदमराज पन्त, लक्ष्मण आचार्य, वचन कार्की, नागेनसिंह ठकुरीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

काग्रेस नेता खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेतले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

दुई महामन्त्रीका लागि पाँचजनाको उम्मेदवारी परेको छ भने एक कोषाध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।

महामन्त्रीमा कुन्दनराज काफ्ले, दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, सरोज थापाले मनोनयन दर्ता गराएका छन् ।

९ वर्षपछि यही साउन २३ गते उद्घाटन गरिएको नेवि संघको महाधिवेशनमा प्रतिनिधि विवादका कारण बन्दसत्र नै नगरी नेतृत्व चयन हुन लागेको हो ।

यसैबीच, धेरै मतदाताले भोट दिने पद र क्षेत्रमा विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने भएको छ ।

मतदानमा ४० ओटा विद्युतीय मेसिन प्रयोग गरिने निर्वाचन समितिका संयोजक खरेलले जानकारी दिए ।

बुधबार (भोलि) बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतदानको कार्यक्रम राखिएको छ ।

मतदानमा ३ हजार ७ सय ६० प्रतिनिधिले भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्