१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सडक दुर्घटना रोक्ने व्यवस्था गर्न र एकाधिकार अन्त्य गर्न सरकारको ध्यानाकर्षण


0
Shares

                                                               फाइल फोटो

काठमाडौं, भदौ १ । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले निर्वाचन क्षेत्र र जिल्लाका समसामयिक विषय र घटनाकोबारेमा सदनलाई जानकारी गराएका छन् ।

बैठकमा शून्य समायमा पहिलो वक्ताकोरुपमा भाग लिँदै सासद शान्तिदेवी चौधरीले उदयपुरमा काली र त्रिजुगालगायतका खोलाले धेरै खेतीयोग्य जमिन कटान गरेकाले त्यसको नियन्त्रणका लागि तटबन्धको व्यवस्था गर्न माग गरिन् ।

अर्का सासद शिवचन्द्र चौधरीले दैनिकजसो सडक दुर्घटना हुँदा सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनुपरेकाले तत्काल यस्ता घटना रोक्ने व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद सलदेव सुतियारले ‘बाढीबाट सप्तरीका धेरै जनता पीडित भएको हुँदा उनीहरुलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराओस्’–भने ।

सांसद सरस्वती बजिमयले ‘गाउँपालिका र नगरपालिकाको घटाउनु भनेको संघीयता र विकेन्द्रीकरणको अवधारणाविपरीत कार्य भएकाले भूगोल र जनसंख्याबीच तालमेल गरेरमात्र संख्या निर्धारण गरियोस्’–भनिन् ।

अर्का सांसद सीता नेपालीले सुर्खेत र दाङमा असिनाबाट खोतबारीमा लगाएको अन्नबालीमा क्षति पुर्‍याएको हुँदा मर्कामा परेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा यातायात दुर्घटना रोक्न एकाधिकार अत्य गर्न आवश्यक रहेको धारणा राखिन् ।

सांसद हरिलाल ज्ञावलीले ‘काभ्रेलगायत मुलुकका विभिन्न भागमा सवारी दुर्घटनामा धेरै जनताको ज्यान गएका हुँदा दुर्घटना रोक्न कानुन कार्यान्वयनमा जोड दिन आवश्यक छ’–भने ।

सासद ज्ञानकुमारी छन्त्यालले बुर्तिवाङ, ढोरपाटन क्षेत्रका सडक जीर्ण रहेकाले तत्काल सुधारको आवश्यकता औंल्याइन् । रासस