Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


नेप्सेमा कारोबार स्थगन भएको अध्ययन गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न धितोपत्र बोर्डको निर्देशन


52
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नियमित धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले चासाे देखाएकाे छ।

बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन दिएको हाे। धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा यहि असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । उक्त समस्या तत्काल समाधान हुन नसकेपछि कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हाे ।

बोर्डले कारोबार नै स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले उक्त घटनाको आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता समस्या आगामी दिनमा दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताउनुभयाे।

बोर्डले घटनाको प्राविधिक पक्ष तथा कारोबार स्थगन गर्नुपर्ने कारण पहिचान गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ। टोलीले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या, त्यसको प्रभाव तथा कारोबार प्रणालीमा पर्न सक्ने जोखिम लगायत विषयमा अध्ययन गर्ने बोर्डले जनाएकाे हाे।