२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


रियो ओलम्पिकमा नेपालका हरि आज दौडदै


0
Shares

काठमाडौं, भदौ १ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१औं गृष्मकालीन ओलम्पिकमा नेपालका धावक हरिकुमार रिमालले बुधबार (आज) प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली सेनाका धावक रिमालले एथ्लेटिक्सको ५ हजार मिटर दौडमा सहभागिता जनाउँदैछन् ।

रिमालको खेल ओलम्पिक स्टेडियममा नेपाली समयअनुसार बुधबार (आज) बेलुका ६ बजेर ५० मिनेट जाँदा सुरु हुनेछ ।

रिमालले प्रतिस्पर्धा गर्ने पहिलो ‘हिट’मा लन्डन ओलम्पिकका दोहोरो स्वर्णपदकधारी बेलायती खेलाडी मो फराह रहेका छन् । फराहले रियो ओलम्पिकमा पनि १० हजार मिटरतर्फ स्वर्णपदक जितिसकेका छन् ।

ओलम्पिकमा पदकको सम्भावनाबाट निकै टाढा रहेका रिमालले राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेका छन् ।

भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा कास्यपदक जितेका रिमालको उत्कृष्ट समय १४ मिनेट ३२ सेकेन्डको रहेको छ ।

यो स्पर्धामा नेपालको राष्ट्रिय कीर्तिमान राजेन्द्र भण्डारीको नाममा रहेको छ । सेनाका धावक भण्डारीले १४ मिनेट चार सेकेन्डको कीर्तिमान राखेका छन् ।

रियो ओलम्पिकको लागि नेपालका सात खेलाडी ब्राजिल पुगेका छन् । जसमध्ये पाँचजनाले प्रतिस्पर्धा गरिसकेका छन् भने रिमाल छैटौं खेलाडी हुन् । यसपछि तेक्वान्दोकी निशा रावलकोमात्रै खेल्न बाँकी छ ।

नेपालका पौडी खेलाडी शिरीष गुरुङ र एथ्लेटिक्सकी सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान बनाएका छन् भने गौरिका सिंह र फुपूल्हामु खत्रीको प्रदर्शन सहभागितामै सीमित बनेको छ ।