नेविसंघमा नयाँ नेतृत्व चुन्न २० घण्टा लगाएर गरियो मतदान • Image Khabar Image Khabar


नेविसंघमा नयाँ नेतृत्व चुन्न २० घण्टा लगाएर गरियो मतदान


Imagekhabar
२ भाद्र २०७३, बिहीबार १४:५७

नेविसंघमा नयाँ नेतृत्व चुन्न २० घण्टा लगाएर गरियो मतदान

काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्न २० घण्टा लगाएर मतदान गरिएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा हिजो सवा १२ बजेबाट थालिएको मतदान आज विहान करीब ८ बजे सकिएको हो । मत दिनका लागि विद्यार्थीहरु रातभर लाइनमा जाग्राम बसेका थिए ।

करिब ३२ सय मतदाताले नेतृत्व चुन्न मत दिएको नेविसंघ नेता युपी लामिछानेले जानकारी दिए ।

मतदानका लागि लामो समय लागेपनि विद्युभीय मतदान भएकाले परिणाम भने मतगणना थालेको दुई घण्टामै आउने निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवार धेरै भएकाले मतदानमा ढिलाई भएको हो । आफ्नो उम्मेदवारको नाम कहाँ छ भनेर खोज्नै समय लागेको थियो ।

एक अध्यक्षका लागि सात जना, २ महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लागि ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

एक सय २९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ । १ सय ५१ सदस्यीय कार्य समिति मध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् ।

अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री, १३ सहायक महामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने छन् ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा सात जना प्रतिस्पर्धामा छन् । सभापतिमा नयनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीबीच प्रतिस्पर्धा छ ।

नयनसिंह महर कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षका साझा उम्मेदवार हुन् । आचार्य र त्रिपाठी नेता रामचन्द्र पौडेल पक्षका र बस्नेत खुमबहादुर खड्का पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्