
काठमाडौं, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उच्चस्तरीय भेटघाटका क्रममा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ ।
यसअघि हिजो उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरे । राष्ट्रपति भवनमा भएको भेटमा दुई पक्षीय हित तथा उच्चस्तरीय राजनीतिक भ्रमणको विषयमा छलफल भएको छ ।
त्यसअघि मन्त्री निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटघाट गरे । भेटमा भारतले मधेसी दलहरूले उठाएको सीमांकनसम्बन्धी माग, संविधान कार्यान्वयन तथा चुनावबारे नयाँ सरकारले गरेको तयारीबारे चासो व्यक्त गरेको छ ।
निधिसँगको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चासो राख्नु भएको हो । मधेश आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरेर राम्रो सुरुवात गरेको भन्दै स्वराजले संविधान संशोधन र चुनावबारे जिज्ञासा राखेका थिए ।
वर्तमान सरकार सबैलाई समेट्ने गरी अघि बढेकामा भारत खुसी भएको स्वरुाजको भनाइ थियो । निधिले मधेशी दलहरूको माग सम्बोधनमा सरकारले गृहकार्य थालेको र त्यसका लागि संविधान संशोधनको तयारी गरिएका जानकारी गराएका थिए ।
भेटमा प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण र एजेन्डाबारे पनि छलफल भएको थियो । भदौ ३० र ३१ गते प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्ने विषयमा छलफल भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणबारे पनि निधि र स्वराजबीच छलफल भएको छ ।
हुलाकी राजमार्ग निर्माणमा भारतको सहयोग, पश्चिम रेलमार्ग निर्माण, पञ्चेश्वर परियोजनाको डीपीआर सकेसम्म चाँडो सम्पन्न गर्ने, चालु परियोजनाहरूलाई अगाडि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्