
काठमाडौं । चेल्सीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० ले हरायो ।
खेलमा लिभरपुललाई जित दिलाउन सादियो माने र मोहमद सलाहले दोस्रो हाफमा एक–एक गोल गरे । चेल्सीले भने केही राम्रा अवसरलाई खेर फालेको थियो ।
प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको छ ।
सिटीको जितमा राहिम स्टर्लिङले दुई गोल गर्दा ग्याब्रिएल जिससले एक गोल थपे । क्रिष्टल प्यालेसका लुका मिलिभोएभिकले एक गोल फर्काए ।
गएरातिको जितसँगै प्रिमियर लिग फुटबलको अंक तालिकामा म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ । एक खेल कम खेलेको सिटिको ८३ अंक छ । पराजित टोली चेल्सी भने ६६ अंकका साथ चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्