राती सुत्दा नेपाली भोलिपल्ट उठ्दा भारतीय • Image Khabar Image Khabar


राती सुत्दा नेपाली भोलिपल्ट उठ्दा भारतीय


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार १५:०३

राती सुत्दा नेपाली भोलिपल्ट उठ्दा भारतीय

बुद्धिनारायण श्रेष्ठ –

विशाल नेपाल नामक डकुमेन्टरी फिल्म सुटिङ टोली अन्तूबाट पैदल मार्च गर्दै सिमानै सिमानाबाट उत्तरतर्फ लागेछन् । श्रीअन्तूबाट गुफापातालको जंगे सीमाखम्बा नं.७१-१३, ७१-१४, ७२-५ तथा ७२-६ (पुरानो नं. के-४) गन्ति गर्दै छब्बिसे पुगेछन् ।त्यसपछि छब्विसेमा मेची नदीको शिरनजिक रहेको जंगे खम्बा नं.७३ (साबिक २६) को गन्ति गरेछन् । बुद्धेले बोकेको सन् १९६३ मा सर्भे अफ इन्डियाले बनाएको नक्सामा खम्बा भिंडेछ । त्यहाँ रहेका स्थानिय वासिन्दाअनुसार भारतीय पक्षले यो स्तम्भ भत्काउन निकै प्रयास गरेका थिए रे । नेपाल सरकारले बेवास्ता गरे अभैm यो पिलर ध्वस्त हुनसक्छ भन्ने जनमानसको धारणा सुनेछन् ।

सुटिङ टोलीले मुख्य मुख्य जंगे सीमाखम्बा क्षेत्रको छायांकन गर्दै छिरुवा, सामालुङ, श्रीबुङ, सल्टर हुँदै टोली हिले भंज्याङ पुगेछ । सल्टरमा गाडिएको साबिक २६ नं. स्तम्भ सहिसलामत रहेको हेर्दै हिले भंज्याङमा साविकको जंगे खम्बा नं.२९ पनि गन्ति गरेछन् । यी मूल खम्बाहरूका बीच बीचमा सहायक होचा स्तम्भहरू ७१-१३, १४, १७, २१ तथा २३ गाडिएका रहेछन् । १३ र १४ नं.को बीच करिब ५० मिटर लामो सीमारेखामा भारतले बनाएको दार्जिलिङ–पशुपतिनगर सडकले नेपाली दशगजा क्षेत्रसमेत मिचेको अवलोकन गरेछन् । बुद्धेले झटपट झोलाबाट नक्सा झिकेर भिंडाउँदा जमिनमा मिचिएको पाएछन् । तर पैदल हिंडाइको थकानले केही पनि बोलेनछन् ।

यत्तिकैमा टोलीका तीन जना हिले भंज्याङको चीया पसलमा सुस्ताउन पुगेछन् । बुद्धेले त्यस क्षेत्रको जंगे सीमाखम्बाको स्थिति बुझ्न चीया पसलेलाई जिज्ञासा राखेछन् । जवाफमा ‘यहाँको सिमाना यस्तै हो, दुःख सुख बसिएको छ भन्ने आएछ ।’ मनोज पण्डितलेचाहिँ हामी काठमाडौंबाट सिमानाको फिल्म खिच्न आएका हौं भनेपछि उनीहरू खुलेछन्– ‘ए, हामीले त तपाईंहरू एसएसबि होला भन्ने ठानेका थियौं, होइन रहेछ ।’ यति कुरा हुँदाहुँदै स्थानिय तीन चार जना पनि थपिन आइपुगेछन् । त्यहाँ जम्मा भएकामध्ये एक जनाको नाम पेम्बा भोटिया रहेछ । उनले नाँकको प्वाल फुलाउँदै भनेछन्– ‘हेर्नोस, २०५९ असार २४ गते राती सुत्दा हामी नेपाली थियौं, भोलिपल्ट बिहान त हामी भारतीय भइरहेका रहेछौं ।’

    बुद्धेले सोधेछन्– हामीले बुझेनौं, तपाईंले के भन्नुभएको हो ? अनि त्यसपछि पेम्बाले सविस्तार वयान गरेछन् । २४ गते राती हामी मस्त निदाएको बेला भारतीयहरूले उ त्यहाँ माथि थुम्कोमा (उठेर देखाउँदैं) ७१-२२ नम्बरको नयाँ लिखुरे सीमाखम्बा गाडेर गएछन् । भोलिपल्ट विहान उठेर पिसाब फेर्न जाँदा खम्बा गाडिएको देखियो । यो सीमाखम्बा भन्दा पूर्वतर्फ रहेको हाम्रो ६ घरधुरी र एउटा सरकारी छोटी भन्सार कार्यालयसमेत भारतीय दशगजा क्षेत्रमा पारिएछ ।

पेम्बाले अगाडि भने, यो नयाँ खम्बा उब्जेको देखेर गाउँमा हल्ला खल्ला मच्चियो । कसले गाड्यो यो पुड्को खम्बा भनेर सत्तोसराप ग¥यौं । यत्तिकैमा हामीमध्ये कसैले यो खम्बालाई उखेलेर झाडीभित्रको पाटोमा भारततर्पैm हुर्राइदियौं । खम्बाको खाल्डोमा एउटा घोचोमा नेपालको झण्डा राखेर घोचो गाड्यौं । दिउँसोपख त पारीका मान्छेको हूल आएर भारत सरकारले गाडेको सीमाखम्बा कसले उखेलेर फाल्यो भनेर उधुम मच्चायो । हिलेका निकै वासिन्दा पनि त्यहॉ जम्मा भए । घम्साघम्सी पर्ला जस्तो भयो । भोलिपल्ट दार्जिलिङको डिएम र इलाम सदरमुकामबाट सिडिओ आए । वारिपारिका वासिन्दा (एसएसबि जवान जस्ता देखिने) निकै जम्मा भए, चर्काचर्की प¥यो । अन्तिममा प्रजिअ र डिएमले यो विवाद केन्द्रमा जाहेर गरेर आपसी समाधान गरिनेछ, त्यस बेलासम्म आजको स्थितिमा सबैजना रहनोस् भनी चित्त बुझाए र हुलदङ्गा सामसुम भयो । बाँकी कुरो के भयो आजका दिनसम्म हामीलाई थाहा छैन । फेरि खम्बा गाड्न कोही आएका छैनन् । तर पनि ७१-२२ नम्बरको लिखुरे खम्बाको भूतले हामीलाई सँधै मनमा तर्साइरहेको छ– एक रात हामी नेपाली नागरिकबाट भारतीय भयौं । भोलिपल्ट नेपाली नागरिक नै हुन पुग्यौं । अब कतै फेरि भारतीय हुनुपर्छ कि भनी हाम्रो मनमा ढ्याङ्ग्रो ठोकिरहन्छ ।

यसपछि उनीहरू चार जना स्थानियवासीले बुद्धेसमेत तीनै जनालाई थुम्कोमा लिखुरे खम्बा उखेलिएको डोब देखाउन लगेछन् । भिडियो क्यामेराचालक लोकचन्द्र थापाले घुमाइ फिराइ छायांकन गरेछन् । फिल्मका निर्देशक पण्डितले बुद्धेलाई खम्बाको डोबमा उभिएर बक्न निर्देशन दिएछन् । बुद्धेले पनि भावुक हुँदै फतफताएछ– यसरी नेपाली नागरिक विदेशी वासिन्दामा परिणत हुँदै गए भने र नेपालको आधाआधी नागरिकको स्वामित्व भएको सीमावर्ती जमिन छिमेकीको साँधभित्र गाभिन पुग्यो भने सदा स्वतन्त्र राष्ट्र नेपालको हविगत कस्तो होला ?
(श्रेष्ठको भर्खरै प्रकाशित ‘जङ्गे र बुद्धे’ पुस्तकबाट साभार )

प्रतिक्रिया दिनुहोस्