८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, चैत ३० । पर्यटक दौड प्रतियोगिताको उपाधि अमेरिकाका ब्रायन किनले जितेका छन् ।

१६औं फेवा नववर्ष महोत्सवअन्तर्गत् शनिबार पोखराको लेकसाइडमा आयोजित प्रतियोगितामा बेलायतका एलेक्स हक्कन दोस्रो भए । क्यानडाका माइकर बेकरले तेस्रो स्थान हासिल गरे ।

प्रतियोगिताअन्तर्गत् महिलातर्फको छुट्टै मूल्यांकनमा बेलायतकी हाना कारस पहिलो, फ्रान्सकी भिओलेट लेफर दोस्रो र अमेरिकाकी सारा कोइनी तेस्रो भए ।

प्रतियोगितामा पहिलो हुनेले बुद्ध वा यति एअरको पोखरा–काठमाडौं उडान टिकटलगायत पुरस्कार पाएका छन् ।

दोस्रो हुनेले अन्नपूर्ण वा पोखरा पाराग्लाइडिङ कम्पनीबाट ३० मिनेटको टेन्डम उडान सुविधालगायत हात पारे ।

तेस्रो हुनेलाई पोखरा–काठमाडौं ग्रीनलाइन टुर्सको टिकटलगायत पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा विभिन्न देशका कुल ६६ पर्यटकले सहभागिता जनाएको प्रतियोगिता संयोजक अनिल सिंहले जानकारी दिए ।

पोखराको हल्लनचोकस्थित पिस प्लाजा होटलदेखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए ।

आयोजक पश्चिमाञ्चल होटल संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले पोखरा प्रवर्द्धनमा पर्यटक दौड प्रतियोगिताले राम्रो प्रभाव छाड्दै आएको बताए ।