१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


ट्रायथलन र दुवाथलनमा विभागीय टोलीको बर्चस्व


0
Shares

प्रदिप पौडेल

पोखरा, चैत ३० । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा आयोजित ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले बर्चस्व कायम गरेको छ ।

ट्रायथलन पुरुषतर्फको प्रतिश्पर्धामा नेपाली सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते ।

एक मिनेटले पछि परेका आर्मीकै खेलाडी बसन्त थारुले रजत पदकमा चित्त बुझाए । थारुले १ घण्टा ९ मिनेट ९ सेकेण्डको समयमा पुरा गरेका थिए । तेस्रो स्थानमा भने सशस्त्र प्रहरी बलका नितेश मानन्धर रहे । उनले १ घण्टा १५ मिनेट ९ मिनेटमा पुरा गर्दै कास्य पदक हासिल गरे ।

महिलातर्फको प्रतिश्पर्धामा सशस्त्र प्रहरी बलकी सोनी गुरुङले स्वर्ण पदक हासिल गरिन् । उनले १ घण्टा २२ मिनेटको समय लगाईन् । नेपाली सेनाकी केशरी थापा मगरले १ घण्टा २९ मिनेट ३० सेकेण्डमा पुरा गर्दै रजत पदक र गण्डकी प्रदेशकी जमुना थापाले २ घण्टाको समय लगाउँदै कास्य पदकमा चित्त बुझाईन् ।

यसैगरी दुवाथलन इभेण्ट प्रतिस्पर्धामा पुरुषतर्फको स्वर्ण सशस्त्रका लक्ष्मण मल्लले जितेका छन् । उनले १ घण्टा १ मिनेट १५ सेकेण्डको समयमा पुरा गरे ।

त्यसैगरी नेपाली सेनाका हिमाल तामाङले १ घण्टा १ मिनेट ५८ सेकेण्डको समयमा पुरा गर्दै रजत पदक जिते । तेस्रो स्थानमा सशस्त्र प्रहरी बलकै किरणकुमार मल्ल रहे । कास्य जित्न उनले १ घण्टा ४ मिनेट १६ सेकेण्डको समय लगाएका थिए ।

सोही इभेण्टअन्तर्गत महिलातर्फको प्रतिस्पर्धा सशस्त्र प्रहरी बलकी हुमी बुढामगरले स्वर्ण जित्न १ घण्टा १६ मिनेट १७ सेकेण्डको समय लगाइन् । १ घण्टा १७ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै सशस्त्र प्रहरी बलकी निर्जला ताम्राकारले रजत र सशस्त्र प्रहरी बलकै सकुन्तला बुढामगरले १ घण्टा २९ मिनेट ४६ सेकेण्डको समयमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट ६ पुरुष र ३ महिला खेलाडीले प्रतिश्पर्धा गरेका थिए ।

ट्रायथलन अन्तर्गत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्वीमिङ ७५० मिटर, ५ किलोमिटरको दौडमा प्रतिस्पर्धा गरेका थिए । दुवाथलन स्प्रिन्टमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौडको प्रतिस्पर्धा गर्दै सहभागीले टुंग्याएका थिए ।