
ध्रुव भट्टराई (इमेज)
विराटनगर, असार २५ । सुन तस्करी र मोरङ, उर्लाबारीका शनम शाक्य हत्या प्रकरणका थप तीनजना अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सोमबार मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले ६ जना अभियुक्तमध्ये तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्ने र तीनजनालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
काठमाडौं–१६, स्वयम्भूका ५४ वर्षीय ‘फाल्दुङ फुल्टुङ’ भनिने लक्षुबहादुर गुरुङ, काठमाडौं–६, गौरीघाटका ४२ वर्षीय रामकुमरा तिवारी र काठमाडौं–९ का ३४ वर्षीय मदन सिलवाल पुर्पक्षका लागि मोरङ कारागार चलान भएका जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
यस्तै, उर्लाबारी–५ का ३८ वर्षीय ‘रेवत’ भनिने रेवन्तकुमार आचार्य एक लाख २१ हजार ५०० रुपैयाँ, झापा, दमक–९ का ३४ वर्षीय विनोद अधिकारी र दोलखा, चरिकोट–१ का ४३ वर्षीय मोतीराम श्रेष्ठलाई जनही एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएकोे जिल्ला अदालत मोरङले जनाएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् एकजनालाई फरार प्रतिवादी बनाएर गत बुधबार सातजनाविरुद्ध पूरक अभियोग लगाएर ‘आपराधिक समूह स्थापना, सन्चालन गरी सुन चोरी–पैठारी, चोरी–निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
सुन तस्करी प्रकरणमा अनुसन्धानकाक्रममा पहिलो चरणमा गत वैशाख १९ गते ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
तीमध्ये मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’, प्रहरी अधिकारीसहित ३१ जना पुर्पक्षका लागि कारागारमा छन् । दुईजना अदालतको थुनछेक बहसपछि तारेखमा छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस्