२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अभिभावकले गरे विद्यालय बन्द


0
Shares

गोरखा, भदौ २१ । शिक्षक सेवा आयोगको परीक्षा दिन भन्दै गाउँबाट हिँडेका शिक्षकहरु अहिलेसम्म नफर्केपछि उत्तरी गोरखाको कासीगाउँ गाविसको मञ्जुश्री मावि अभिभावकले बन्द गरेका छन् ।

अभिभावक संघका अध्यक्ष लुमप्रसाद गुरुङ नेतृत्वको समूहले गत आइतबार विद्यालयमा ताला लगाएपछि विद्यालय बन्द छ ।

यही भदौ ७ गते आयोगको परीक्षा दिन भन्दै विद्यालय बन्द गरी शिक्षक सदरमुकाम झरेका थिए ।

भदौ १५ गतेदेखि विद्यालय खुलाउने भनिएपनि १२ जनामध्ये ६ शिक्षक विद्यालयमा अनुपस्थित रहेपछि अभिभावकले विद्यालयमा ताला लगाएको बताएका छन् ।

‘बाटो हेर्दाहेर्दै शिक्षक आएनन् । आज आउलान् भन्यो आउँदैनन्, भोलि आउँछन् कि भन्यो आएनन्’–उनले भने–‘गाउँलेहरु एकमत भएर विद्यालयमा ताला लगाएका हौं ।’

जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई सम्पर्कमा ल्याइ विद्यालयमा पठाएपछि ताला खोल्ने उनीहरुको भनाइ छ ।

अभिभावकले विद्यालयमा ताला लगाएपछि मान्वुस्थित प्रहरीचौकीका प्रहरी कासीगाउँ पुगेका छन् ।

प्रधानाध्यापक राजकुमार श्रेष्ठ पनि विद्यालयको सम्पर्कमा नभएको भन्दै स्थानीयबासी आसबहादुर घलेले १५ दिनदेखि विद्यालयमा भद्रगोल हुँदै आएको बताए । ‘विद्यार्थी स्कुल गएर खेलेर फर्किन्छन्’–उनले भने ।

विद्यालयका शिक्षक धनकुमार घलेले प्रक्रिया मिचेर आफ्नी श्रीमतीलाई विद्यालयमा नियुक्ति गरेपछि विवाद भएको स्थानीयबासी मानबहादुर गुरुङले बताए ।

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले विद्यालय नगएका शिक्षकलाई स्पष्टीकरण सोधिने बताए ।

‘परीक्षा दिन जाने भन्दै विद्यालय बन्द गर्न पाइँदैन’–जिशिअ सुवेदीले भने । रासस