पदाधिकारी नियुक्त नहुँदा राष्ट्रिय परीक्षा बोर्डको काम प्रभावित • Image Khabar Image Khabar


पदाधिकारी नियुक्त नहुँदा राष्ट्रिय परीक्षा बोर्डको काम प्रभावित


Imagekhabar
२१ भाद्र २०७३, मंगलवार २२:४३

पदाधिकारी नियुक्त नहुँदा राष्ट्रिय परीक्षा बोर्डको काम प्रभावित

काठमाडौं, भदौ २१ । गठन भएको दुई महिनासम्म पनि प्रमुखसहित पदाधिकारीहरु नियुक्त हुन नसक्दा राष्ट्रिय परीक्षा बोर्डको काम–कारबाही प्रभावित बनेको छ ।

शिक्षा ऐन पारित भएसँगै गत असार १५ गते परीक्षा नियन्त्रण कार्यालय र उच्च माध्यामिक शिक्षा परिषद खारेज भइ १३ जना पदाधिकारी हुने गरी राष्ट्रिय परीक्षा बोर्ड गठन भएको थियो ।

ऐनमा बोर्डले कक्षा ९ देखि १२ सम्मको परीक्षालगायतका अरु काम–कारबाही सन्चालन गर्ने भनि उल्लेख छ ।

तर, गठन भएको दुई महिना बितिसक्दा पनि बोर्डले पूर्णता पाउन सकेको छैन । हाल बोर्डमा सातजना पदाधिकारीहरुमात्र छन् ।

शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीलाई सदस्यसचिव बनाएर बोर्डमा पठाइए पनि पछि उनी सचिवमा बढुवा भएपछि हाल बोर्डमा सदस्यसचिवको पद रिक्त छ । अर्कोतिर, बोर्डको अध्यक्ष नै नभएपछि काम प्रभावित बनेको छ ।

तर, परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले भने ऐनअनुसारको विनियम र नियमावली बन्न नसक्दा बोर्डको काम–कारबाही प्रभावित भएको मंगलबार हामीसँग बताए ।

परीक्षा बोर्ड गठन भएपछि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ भने व्यवस्थापन र मानविकी संकायको परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्