
काठमाडौं, भदौ २३ । ३७औं शिक्षा दिवसको अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्मान गरिएको छ ।
शिक्षा मन्त्रालयले विहीबार राजधानीमा कार्यक्रम गरी २५ ओटा विद्यालयलाई सम्मान गरिएको हो ।
सामुदायिक विद्यालयतर्फ कास्कीको शीतला देवी सामुदायिक विद्यालयलाई उत्कृष्ट विद्यालयको सम्मान प्रदान गरियो भने निजी विद्यालयबाट ललितपुरको जेम्स स्कुललाई पुरस्कृत गरियो । यी दुबै विद्यालयले दुई–दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै, पाँचै विकास क्षेत्रबाट सामुदायिक र निजीतर्फ एक–एकओटा विद्यालयलाई एक–एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ ।
जसमा पूर्वाञ्चलबाट सामुदायिकतर्फ ओखलढुंगाको बरुणेश्वर माध्यामिक विद्यालय र निजीतर्फ विराटनगरको बालकल्याण विद्यामन्दिरलाई पुरस्कृत गरियो ।
त्यस्तै, मध्यमाञ्चलबाट सामुदायिततर्फ चितवनको नारायणी नमूना माध्यामिक विद्यालय र निजीतर्फ ललितपुरको लिटिल एञ्जल्स विद्यालय पुरस्कृत भए ।
यस्तै, पश्चिमाञ्चलबाट सामुदायिकतर्फ बाग्लुङको गणेश माध्यामिक विद्यालय र निजीतर्फ पोखराको मदरल्यान्ड माध्यामिक विद्यालयले पुरस्कार पाएका छन् ।
त्यसैगरी, मध्यपश्चिमाञ्चबाट सामुदायिकतर्फ मुगुको गुरु माध्यामिक विद्यालय र निजीतर्फ दाङको तुलसी आवासीय माध्यामिक विद्यालयलाई पुरस्कृत गरियो ।
त्यस्तै, सुदूरपश्चिमबाट सामुदायिकमा डोटीको भगवती माध्यामिक विद्यालय र निजीतर्फ कन्चनपुरको इन्टरन्यासनल पब्लिक स्कुल पुरस्कृत भएका छन् ।
दुर्गम जिल्लाहरुका विद्यालय मध्येबाट सोलुखुम्बुको खुम्जुङ माध्यामिक विद्यालयलाई नगद एक लाखसहित सम्मान गरियो ।
प्राविधिक शिक्षातर्फ रुपन्देहीको कालिका उच्च माध्यामिक विद्यालयलाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट क्याम्पसतर्फ इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, पोखराको जनप्रिय बहुमुखी क्याम्पस र काठमाडौंको कलेज अफ बायोमेडिकल इन्जिनियरिङलाई जनही दुई लाख ५० हजार रुपैयाँबाट सम्मान गरियो ।
यस्तै, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ देशभरिबाट ७ कलेजलाई सम्मान गरियो ।
उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार प्रदान गर्दै शिक्षामन्त्री धनीराम पौडेलले ‘शिक्षा आयोग गठन गर्नु आजको आवश्यकता हो’–भने ।
प्रतिक्रिया दिनुहोस्