Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


धमाधम मोबाइल पड्किन थालेपछि सामसुङले फिर्ता लिन थाल्यो


0
Shares

सोल, भदौ २७ । इलेक्ट्रोनिक बहुराष्ट्रिय कम्पनी ‘सामसुङ’ले आफ्नो मोबाइलको एउटा मोडलमा आएको खराबीका कारण अन्तर्राष्ट्रिय बजारबाट सो मोडलका सबै उत्पादन फिर्ता लैजाने भएको छ ।

‘ग्यालेक्सी नोट–७’ को ब्याट्रीमा खराबी भएपछि उक्त मोबाइल अचानक पड्किने गरेको समस्या यत्रतत्रबाट आएको थियो । चार्ज गर्दा वा चार्ज गरिसकेपछि मोबाइल अचानक पड्किने गरेको गुनासो जताततैबाट आएको हो ।

मोबाइलमा देखिएको सोही खराबीलाई ध्यानमा राख्दै विभिन्न मुलुकमा विमान यात्राका क्रममा उक्त मोबाइल प्रयोग गर्न समेत यात्रुहरुलाई रोक लगाइएको थियो ।

अमेरिकाको संघीय उड्डयन प्रशासन, युएई, भारत, सिंगापुर लगायतका विमान कम्पनीहरुले उडानका समयमा उक्त मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएका थिए ।

विश्वकै सबैभन्दा ठूलो मोबाइल निर्माता कम्पनी सामसुङले आफ्ना ग्राहकको सुरक्षालाई कम्पनीले सबैभन्दा बढी प्राथमिकता दिएको प्रष्ट पार्दै ग्यालेक्सी नोट–७ मा देखिएको खराबीलाई ध्यानमा राख्दै सबै ग्राहकलाई उक्त मोबाइल अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बन्द गर्न र प्रयोगमा नल्याउन आग्रह गरेको छ ।

बजारमा गएका २५ लाखभन्दा बढी मोबाइल फिर्ता लिने घोषणा पनि सामसुङले गरेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङका अनुसार १९ सेप्टेम्बरबाट उक्त मोडलका सबै फोन फिर्ता लिइनेछ । (एजेन्सी)