
काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र भृकुटीमण्डपमै हुने भएपनि निर्वाचन भने राष्ट्रिय सभागृहमा गरिने तयारी गरिएको छ ।
निर्वाचित र मनोनित गरी २ हजार २ सय ४४ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । संघको नेतृत्वका लागि दुई नेतृ मैदानमा उत्रिएका छन् ।
अध्यक्षमा मीना पाण्डे र उमा रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ । पाण्डेलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उम्मेदवार बनाएको हो भने रेग्मी संस्थापन र कृष्ण सिटौला समूहको संयुक्त प्यानलबाट उम्मेदवार बनेकी हुन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट अध्यक्ष र सिटौला समूहको महासचिवमा भने धना खतिवडालाई उम्मेदवार बनाइएको छ ।
यसअघि नेपाल विद्यार्थी संघमा पनि संस्थापन र सिटौला समूहको संयुक्त प्यानल बनेको थियो । अध्यक्षकी उम्मेदवार दुबै जना पूर्व अध्यक्ष रहिसकेका व्यक्ति हुन् ।
रुपन्देहीले भने यो अधिवेशनमा सहभागी हुन नपाउने भएको छ । २००४ सालमा प्रजातन्त्रको स्थापनाका लागि गठन भएको कांग्रेसको यो तेस्रो ठूलो भगिनी संस्था हो ।
प्रतिक्रिया दिनुहोस्