युवाका लागि अवसरै–अवसर, छोराछोरीलाई विदेश पठाउने सोच त्याग्नोस् : गभर्नर • Image Khabar Image Khabar


युवाका लागि अवसरै–अवसर, छोराछोरीलाई विदेश पठाउने सोच त्याग्नोस् : गभर्नर


Imagekhabar
२९ भाद्र २०७३, बुधबार २२:५२

युवाका लागि अवसरै–अवसर, छोराछोरीलाई विदेश पठाउने सोच त्याग्नोस् : गभर्नर

                                                              फाइल फोटो

काठमाडौं, भदौ २९ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालमा युवा जनशक्तिका लागि अवसरै–अवसर भएकाले रोजगारीका लागि आफ्ना छोराछोरीलाई विदेश पठाउने सोच त्याग्न आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्स र भारतको एलबीइएफ विद्यापिठ ‘स्कुल अफ स्कील’को समन्वयमा ‘लर्ड बुद्ध’ एजुकेसन फाउन्डेसनले विभिन्न क्षेत्रमा कार्यरत् व्यवसायी र स्नातक तह उत्तीर्ण विद्यार्थीका लागि क्षमता अभिबृद्धिसम्बन्धी व्यावसायिक तालिमको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले उद्यमशील व्यक्तिले क्षमता देखाउनुपर्नेमा जोड दिए ।

‘व्यापार–व्यवसाय नेवार र थकालीलेमात्र गर्छ भन्ने भावना त्याग्नुपर्छ, देशभित्र रहेका अवसरहरु युवाले उपयोग गर्नुपर्छ’–नेपालले भने ।

दुई प्रतिशत व्याजदरमा ऋण दिएपनि युवा व्यवसाय सन्चालन गर्न आकर्षित नभएको उनको भनाइ थियो ।

एलबीइ एफ विद्यापीठ स्कुल अफ स्कुलका संस्थापक अध्यक्ष प्रमानन्द केजरीवालले भारतको समन्वयमा नेपालका स्नातक उपाधि युवालाई दक्षता प्रदान गर्न तालिम प्रदान गर्न लागिएको बताए ।

मणिपाल फ्लोरको नेसनल सेफ हेडका प्रमुख देवतीर्थ दानरजीले नेपाल र भारतमा युवा शिक्षित भएपनि बेरोजगारीमा बस्नुपर्ने प्रमुख समस्या रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको विकासका लागि दक्ष जनशक्तिको विशेष महत्व रहेको र दक्षता अभिबृद्धि कार्यक्रमबाट प्राप्त सीपबाट विदेशमा गइ काम गर्दापनि पारिश्रमिक बढी पाउने काम युवाले पाउनसक्ने बताए ।

तालिममा आइटी, आइटीइएस, वित्त, फेसन टेक्नोलोजि, व्यवस्थापन, सर्टिफिकेट इन प्रजेक्ट मेनेजमेन्टलगायत विधामा एक महिनादेखि तीन महिनासम्मका ४५ ओटा तालिम सन्चालन गर्न लागिएको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्