
काठमाडौं, असार २४ । गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेललाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
आइतबार अपराह्न आफैं सर्वोच्च अदालतमा हाजिर भएका पौडेललाई अदालतको आदेश कार्यान्वयनका लागि तत्काल पक्राउ गरी सदरखोर डिल्लीबजार चलान गरिएको हो ।
कृष्णप्रसादको हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले २०७१ साल बैशाखमा धरौटीमा छाडेकोमा पुनरावेदन अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो । तर सर्वोच्च अदालतले २०७२ साल पुसमा जिल्ला र पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै पौडेललाई थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।
छविलाल पौडेल लगायतलाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी लामो समयदेखि सत्याग्रहमा छिन् । पछिल्लो पटक गंगामाया ४० दिनदेखि वीर अस्पतालमा आमरण अनसनमा छिन् ।
गंगामायाका पति नन्दप्रसाद अधिकारीको छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनसन बसेकै अवस्थामा तीन वर्ष अघि निधन भएको थियो । उनको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमा छ ।
२०६१ सालमा एसएलसी जाँच दिएपछि चितवनमा रहेका मावली हजुरबुवालाई भेट्न गएका कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । अधिकारी दम्पतिले छोराको हत्यामा संलग्न रहेको भन्दै पौडेललगायत विरुद्ध किटानी जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्