१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


हुण्डी लगायतका अवैध कारोबारमा संलग्न व्यक्तिहरु सार्वजनिक


0
Shares

बीरगञ्ज, असार २४ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी लगायतका अवैध कारोबारमा संलग्न विभिन्न व्यक्तिहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

बीरगन्ज महानगरपालिका रानीघाटस्थित राहुल केशरीको घरमा छापामारेर १ करोड १५ लाख नगदसहित उनलाई पक्राउ गरेको हो । केशरीले हुण्डी कारोबार गरेको सूचनाको अधारमा छापा मारेको र उनको घरबाट नगद, विभिन्न बैंकको चेक बुक लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

केसरीसँगै कारोबारमा संलग्न अन्य ५ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

यस्तै बीरगञ्जमै अवैध ८ लाख भारतीय नोटसहित पक्राउ परेका भारत बिहार, मोतिहारीका अभिजित कुमार सर्राफलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

रक्सौलबाट अवैध भारतीय मुद्रा लिएर आईरहेको सूचनाको आधारमा प्रहरीले बीरगञ्जको रजत जयन्ती चोकबाट उनलाई पक्राउ गरेको हो । उनले भारतीय नम्बरप्लेटको पल्सर मोटरसाइकलको ट्यांकीमा लुकाएर ८ लाख १ हजार २ सय रुपैयाँ ल्याएका थिए ।

यस्तै, ६ सय पीस प्रतिबन्धित लागू औषध एम्पुलसहित भारत मोतीहारी उतर ढेकानन्दपुरका उपेन्द्र कुशवाहालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।