
शिवहरि प्रसाद भट्टराई
राजविराज, असार २४ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–५ स्थित महुली खोलामा रहेको पुल भत्किएपछि वन–वे (एकतर्फी) यातायात सञ्चालन गरिएको छ ।
बुधबार खोलामा आएको बाढीले ५० मिटर कटान गरेको भागमा शनिबार साँझ करिब २५ मिटर पुल भत्किएपछि सडक वन–वे सञ्चालन गरिएको हो । वन–वे सडकको केही भाग अझै चर्किएकोले यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ ।
बुधबार यता खोलामा बाढी नआए पनि सडक डिभिजन कार्यालयले पुल भासिएको ३/४ दिन हुँदासमेत संरक्षणमा खासै ध्यान नदिएको तथा भासिएकै ठाउँमा मर्मत सम्भारका लागि ल्याएको बोल्डरहरु राखेकोले पुल भत्किएको स्थानीयको आरोप छ ।
भासिएको पुल मर्मत सम्भारका लागि आफुहरुले कार्य गरिरहेको सडक डिभिजन कार्यालयको भनाइ छ । पुल भासिएपछि केही भाग झुण्डिएको अवस्थामा रहेकोले त्यसलाई भत्काउनै पर्ने भन्दै सडक डिभिजन कार्यालयले भत्किए पनि खासै समस्या नरहेको तथा हाल यातायात अवरुद्ध नभएको प्रष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्