२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


मधेसी बुद्धिजीवीले तयार पारेको संशोधन मस्यौदाको जिम्मा सरकारले लिएन


0
Shares

काठमाडौं, कात्तिक २२ । संविधान संशोधन गर्न तयार ‘मस्यौदा’ ले आइतबार दिनभर राजनीतिक मञ्चदेखि सामाजिक संजाल ततायो । तर त्यो मस्यौदाको जिम्मा लिने कोही भएनन् ।

सरकारले दलहरुबीच छलफल चलिरहेकाले मस्यौदा गर्ने बेला नै नभएको बताएको छ भने मधेसी दलले पनि त्यस्तो मस्यौदा आफूहरुकहाँ नआएको स्पष्ट पारेका छन् ।

दसैं अगाडी अधिवक्ता दीपेन्द्र झालगायतको टिमले संविधान संशोधनका लागि प्रस्ताव तयार पारेको थियो । झाको टिमले प्रस्ताव सरकार र मधेसी दलका नेताहरुलाई दसैं अगाडी नै दिएको थियो ।

तर, यो विषयमा सरकारले कुनै प्रतिक्रिया जनाएको छैन भने दसैंयता छलफल समेत नगरेको भन्दै मधेसी दलहरुले असन्तुष्टि जनाएका छन् ।

तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी भन्छन्, ‘संविधान संशोधनको मस्यौदा भनेर जे बाहिर चर्चा भएको छ, त्यो पुरै गलत छ । हामी जो–जोसँग मस्यौदा छ भनेर हल्ला गरिएको छ, कसैको पनि हात परेको छैन । बरु एकदुई दिनमा सरकारले मस्यौदा तयार गर्दैछ भन्ने सुनेको छु ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य भन्छन्, ‘अहिले चर्चामा आएको संविधान संशोधनको मस्यौदा प्रधानमन्त्री कार्यालयबाट तयार गरेको होइन । अहिलेसम्म प्रधानमन्त्री छलफल मै हुनुहुन्छ । संविधान संशोधनका विषयमा मौखिक रुपमा छलफल भइरहेको छ, लिखित रुपमा कुनै पनि मस्यौदामा छलफल भएको छैन ।’ –नयाँ पत्रिका दैनिकबाट