३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


निगमको वाइडबडीले दोहामा साताभरि उडान भर्ने, काठमाडौं–जापान सीधा उडान


0
Shares

काठमाडौं, असार २३ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइडबडी विमान ‘अन्नपूर्ण’बाट पुरानो गन्तव्य कतारको दोहामा साताभरि उडान भर्ने योजना बनाएको छ ।

वाइडबडी ‘ए ३३०–२००’ सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

एअरबस निर्माता कम्पनी फ्रान्सको तुलुज सहरबाट ९ घन्टाको उडानपछि काठमाडौं आइपुगेको सो विमान सुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ ।

वाइडबडी विमानले पहिलो गन्तव्यकारुपमा हाल उडान गरिरहेको दोहा, भारतको बैंगलोर र थाइल्यान्डको बैंककमा उडान भर्ने तयारी गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

दोहामा हप्ताभरि तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन उडान भरिनेछ ।

प्रवक्ता श्रेष्ठकाअनुसार नयाँ वाइडबडी विमानको व्यावसायिक उडानका लागि आवश्यक कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको र एक/दुई दिनभित्रै परीक्षण उडान ‘प्रुभिङ फ्लाइट’ गरिनेछ ।

यो उडान छोटो दूरीको हुन्छ । भारतको नयाँदिल्ली उडान गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

नयाँ विमानको एकपटक प्रुभिङ उडानपछिमात्र व्यावसायिक उडानमा लगिन्छ । विमान उडाउनका लागि ६ जना स्वदेशी विमान चालक (पाइलट) तयार भइसकेका छन् ।

काठमाडौं–जापान सीधा उडान

निगमको नयाँ वाइडबडी विमानले काठमाडौं–जापान सीधा उडान भर्ने योजना बनाएको छ ।

सुरुमा छोटो दूरीको प्रक्रिया पूरा गरी उडान सुरु गरेपछि आगामी असोज (सेप्टम्बरभित्र) जापान र क्रमशः दक्षिण कोरिया तथा साउदी अरेबियाको गन्तव्यमा उडान भर्ने निगमले जनाएको छ ।

प्रवक्ता श्रेष्ठले काठमाडौंबाट जापानको टोकियोनजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्ने तयारीमा रहेको जानकारी दिए । उक्त गन्तव्यमा हप्तामा तीन दिन उडान हुनेछ ।

नयाँ वाइडबडी विमानको पहिलो उडान आगामी अगस्ट १ देखि हुने जनाइएको छ ।

निगमको अर्को वाइडबडी विमान एक महिनाभित्रै आउँदैछ ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका ८ गन्तव्य भारतको नयाँदिल्ली, बैंगलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।

एक बोइङ ‘नाइन एसिबी–५७५’ र ‘एअरबस ३२०’ सिरिजका दुईओटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।

निगमले आन्तरिकतर्फ ९ ओटा विमानबाट सेवा दिइरहेको छ । तीमध्ये चीनबाट ल्याइएका ‘वाई १२’ चार, ‘एमए ६०’ दुई र तीनओटा ट्वीनअटर विमान छन् । रासस