२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दोषीलाई कारबाहीको माग


0
Shares

काठमाडौ, मंसिर २९ । संयुक्त विद्यार्थी संगठनअन्तर्गत् छात्रा सञ्जालले काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् ।

हत्याको विरोधमा अनेरास्ववियु, नेवि संघलगायत १३ विद्यार्थी संघ–संस्थाका छात्राले संयुक्तरुपमा बागबजारस्थित पद्मकन्या क्याम्पसमा भेला भइ रत्नपार्कस्थित शान्तिबाटिकामा पदयात्रा गरेका थिए ।

सो अवसरमा सञ्जालका अध्यक्ष नवीना लामाले महिलामा हुने विभेद्ले उनीहरुमाथि हिंसा भइरहेको बताउँदै परियार र भुजेलको हत्या जघन्य अपराध भएकाले सो घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन् ।

लोकतान्त्रिक मुलुकमा सरकारले सबै नागरिकप्रति समानता तथा सामाजिक न्यायको अनुभूति गराउनुपर्ने माग गर्दै कडा कानुन नबनेको अहिलेको अवस्थामा भएका कानुनका आधारमा पनि दोषीलाई सजायको व्यवस्था गर्न अध्यक्ष लामाले आग्रह गरिन् ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो घटना निन्दनीय रहेको बताउँदै उक्त सञ्जालका प्रतिनिधि नुवाकोटकी भुजेलको शव फेलापरेको स्थानमा गएर चाँडो स्थलगत अध्ययन गर्ने जानकारी दिए ।

सो विषयमा छानबिन गरी दोषीलाई कारबाही गराउन दबाब दिने उद्देश्यले गृहमन्त्री विमलेन्द्र निधिलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । रासस