
मेलम्ची, मंसिर २९ । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रकोरुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ ।
विद्यालय क्षेत्रमा शव जलाउनेकार्यले विद्यार्थीलाई प्रदूषणमात्र होइन, उनीहरुको मानसिकतामासमेत प्रतिकुल असर परेको अभिभावकको गुनासो छ ।
हेलम्बु–६ मेलम्ची घ्याङस्थित मेलम्चीघ्याङ माध्यामिक विद्यालयले हरेक वर्ष राम्रो नतिजा ल्याउने गरेको छ ।
सो क्षेत्रमा मेलम्ची घ्याङ गुठीले विद्यालय बनाउन जग्गा दिएपछि २७ वर्षअघि विद्यालय स्थापना गरिएको विद्यालयका प्रध्यानाध्यापक पूर्णप्रसाद गौतमले बताए ।
गौतमका अनुसार विद्यालय स्थापना गर्न जग्गा अभावको कारण गुठीले दिएको जग्गामा विद्यालय निर्माण गरिएको र सोही स्थानमा शेर्पा समुदायले शव जलाउने गर्दा पठनपाठनमा समस्या भएको बताए ।
मेलम्ची घ्याङवासीले मेलम्ची घ्याङ गुठी गुम्बा चिनियाँ लामाको अधिकारमा रहने भएकाले गुठीसँगै बनेको चिहान आफूहरुले विद्यालय परिसरबाट हटाउन नसकेको स्थानीय तेञ्जेन लामाले बताए ।
चिनियाँ लामाको अधिकारमा रहेको जग्गाको कारण उनीहरुले विद्यालयबाट चिहानसमेत हटाउन नमानेको स्थानीयवासीको गुनासो छ ।
यसअघि पनि जिल्ला शिक्षा अधिकारीले पटक–पटक उक्त गुठीमा अधिकार जमाउने बौद्धका चिनियाँ लामा रहेको र लामासँग विद्यालय परिसरमा शव नजलाउन आग्रह गर्दासमेत नमानेको गुनासो व्यक्त गरे ।
विद्यालयको अगाडि शव जलाउने गरेकाले पठनपाठनमा समस्या हुँदै आएको विद्यार्थी बताउँछन् । कक्षा सन्चालन हुँदा शवको दुर्गन्धले पढाउनसमेत नसक्ने शिक्षकको गुनासो छ ।
विद्यालयको अन्यन्त्र जग्गा नभएकाले सोही स्थानमा विद्यालय निर्माण गरेको र शव जलाउने स्थान अन्यन्त्र सार्नुपर्ने स्थानीयवासी र विद्यालयको माग रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्