
पोखरा, मंंसिर ३० । पोखरा रङ्गशालामा लगभग रु १० लाख ५० हजारको लागतमा लन टेनिसका खेल मैदान निर्माण भइरहेको छ ।
सातौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल पूर्वाञ्चलमा आयोजना हुने भए पनि एउटामात्र खेल लन टेनिस पोखरामा हुने भएपछि मैदान निर्माणमा जुटेको खेलकुद सङ्घ, कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।
‘हामीले आम खेलप्रेमी पोखरेलीलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागिसमेत आह्वान गर्ने छौँ,’ उनले भने, ‘यो बृहद् कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक छ ।’
पुस महिनाको दोस्रो साताबाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनोटका सम्पूर्ण कार्यक्रम सम्पन्न भइसकेको बताउँदै उनले लन टेनिस प्रतियोगितामा पोखराबाट ४० जना महिलासहित ८० जनाले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।
प्रत्येक विकास क्षेत्रबाट १० जना खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा पाँचजना महिलासहित विभागीय टिमबाट १०–१० जना खेलाडीको सहभागिता रहने व्यवस्था छ । (रासस)
प्रतिक्रिया दिनुहोस्