२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘मलमूत्र खुवाउनेजस्तो अमानवीय व्यवहार गर्नेलाई छुट दिन मिल्दैन’


0
Shares

काठमाडौं, मंसिर ३० । काभ्रेको सानो वाङथलीकी ३२ वर्षीया लक्ष्मी परियारको हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी लक्ष्मी परियारमाथि कुटपिट र मलमूत्र खुवाउनेजस्तो अमानवीय व्यवहार गर्नेहरुलाई छुट दिन नमिल्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा संयुक्त दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिहरुसहितको टोलीले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

प्रतिवेदनअनुसार लक्ष्मी परियारलाई गत मंसिर २० गते स्थानीय सूर्योदय माध्यामिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक हिरा लामा र निजकी आमा काइँलीमाया लामालगायतले मलमूत्र खुवाइ कुटपिट गरिएको कारण मंसिर २४ गते उनको मृत्यु भएको उल्लेख छ ।