यस्तो छ महानगरीय ट्राफिकको नयाँ नियम, आन्दोलनको चेतावनी (भिडियोसहित) « Image Khabar


यस्तो छ महानगरीय ट्राफिकको नयाँ नियम, आन्दोलनको चेतावनी (भिडियोसहित)


Imagekhabar
१ पुष २०७३, शुक्रबार १६:०४

नवीन शर्मा/उत्तम मानन्धर (इमेज)
काठमाडौं, पुस १ । काठमाडौं उपत्यकामा बढ्दै गएको सवारी चापलाई नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार (आज)देखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गरेको छ ।

महाशाखाको नयाँ प्रावधानअनुसार ‘पिक आवर’मा चक्रपथभित्र कुनैपनि लोड–अनलोडका सवारी प्रवेशमा रोक लगाएको छ ।

जसअनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र लोड–अनलोड गर्ने सवारी प्रवेश गराउन पाइने छैन ।

तर, पानी र इन्धन बोक्ने सवारी–साधनलाई भने प्रवेशमा रोक लगाइएको छैन ।

अत्यधिक सवारी चापलाई व्यवस्थापन गर्न नयाँ व्यवस्थाले सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बताए ।

यता, महाशाखाले नयाँ प्रावधान लागू गरेको विरोधमा पिकअप ढुवानी व्यवसाय संघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघले आगामी ९ गतेदेखि चरणबद्ध आन्दोलन घोषणा गरेको छ । नयाँ प्रावधानले आफूहरुलाई ठूला मर्का परेको संघको भनाइ छ ।

नयाँ प्रावधानअनुसार यात्रुबाहक सवारी–साधनमा पनि सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।

त्यस्तै, लामो दुरीका बसहरु अबदेखि बसपार्कबाटै छुट्नुपर्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्