२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


बाँके बन्द १५ घन्टाका लागि खुला


0
Shares

बाँके, पुस १ । ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयककाविरुद्धमा गरिएको तीनदिने बाँके बन्द १५ घन्टाका लागि खुला गरिएको छ ।

संयुक्त संघर्ष समितिको आह्वानमा बाँकेसहित प्रदेश नम्बर–५ का १२ जिल्लामध्ये दाङबाहेक ११ जिल्ला बन्दको घोषणा गरेको संघर्ष समितिले रोकिरहेका यात्री र सवारी–साधनलाई ध्यानमा राखी शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि बन्द खुला गरेको नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।

बन्दका कारण शुक्रबार बिहानैदेखि कोहलपुरमा रोकिइरहेका पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने सवारी–साधन बन्द खुलेपछि गन्तव्यतर्फ लागेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ ।

पटक–पटक विभिन्न खालका सांकेतिक विरोध गर्दा पनि सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएको तथा प्रदेश नम्बर–५ लाई टुक्र्याउन खोजेकोे भन्दै बन्द आह्वान गरिएको संयुक्त संघर्ष समितिले जनाएको छ ।

शुक्रबार दिनभर भएको बन्दका क्रममा सडक विभागको भे१ब ५६३ नम्बरको सरकारी मोटरसाइकल र एक निजी कारमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रासस