गोवामा तीन नेपालीको कला, अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास « Image Khabar


गोवामा तीन नेपालीको कला, अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास


Imagekhabar
२ पुष २०७३, शनिबार ०९:३८

काठमाडौँ, पुस २ । भारतको गोवामा ‘सेरिन्डिपिटी आर्ट फेस्टिबल’सुरु भएको छ । उपमहाद्वीपीयस्तरको कलामा छनोट भई नेपालबाट कविराज लामा, किशोर कायस्थ र मेखबहादुर लिम्बू सहभागी भएका छन् ।

राजनीतिक, सांस्कृतिक तथा आर्थिक विषयमा तयार पारिएका कलाकृति सो प्रदर्शनीमा राखिएको सहभागी कलाकार लामाले जानकारी दिए ।

नेपालबाट राजनीतिक विषयमा लामाले विसं २०४६ पछि नेपालमा बनेका प्रधानमन्त्रीका मुहारचित्र र ती नेताका आवाजलाई सेन्सर प्रविधिमार्फत जोडेर कला सिर्जना गरेका छन्। ‘दिक्क लाग्ने आवाज’ शीर्षकमा लामाले नेताका भाषणलाई डिजिटल प्रविधिमार्फत अभिव्यक्त गरेका छन् ।

गत मङ्सिर २८ देखि पुस ७ गतेसम्म गोवामा भइरहेको सो महोत्सव नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि महत्वपूर्ण हुने लामाले बताए ।

त्यस्तै कायस्थले काठमाडौंँ उपत्यकाको सांस्कृतिक तथा पुरातात्विक सम्पदालाई भूकम्पअघि र त्यसपछिको अवस्थाका रुपमा तुलना गर्दै २० मिनेटको वृत्तचित्र बनाएका छन् ।

उनले उच्चस्तरको सङ्गीत र आवाजलाई निकै कलात्मक रुपमा प्रस्तुत गरेका छन् । कायस्थ आफ्ना कलाका बारेमा भन्छन्, “मैले नेपाली संस्कृतिलाई सौन्दर्य भर्ने कोसिस मात्रै गरेको हुँ ।”

कलाकार लिम्बूले नेपालको विद्यमान आर्थिक अवस्था र त्यसबाट समाजमा परेको यथार्थलाई पस्किएका छन् ।
प्रदर्शनीमा नेपाली कलाकारको सहभागिताका लागि सिद्धार्थ आर्ट ग्यालरीले संयोजन गरेको छ ।

नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान ग्यालरीले ३० वर्षदेखि काम गरिरहेको ग्यालरीका निर्देशक सङ्गीता थापाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्