अन्तर्राष्ट्रिय आप्रवासन दिवसः जोखिमपूर्ण श्रम र शोषणमा पर्नु नेपालीको नियती « Image Khabar


अन्तर्राष्ट्रिय आप्रवासन दिवसः जोखिमपूर्ण श्रम र शोषणमा पर्नु नेपालीको नियती


Imagekhabar
३ पुष २०७३, आईतवार ०७:२८

काठमाडौं, पुस ३ । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।

सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट आइतबार विभिन्न कार्यक्रम गरिंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो ।

सोही दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकको अधिकार सुनिश्चतताका लागि वकालत गर्दै सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।

नेपालमा प्रत्येक दिन करीब १७ सयको हाराहारीमा नेपाली कामका लागि विदेशिने गरेको सरकारी तथ्यांक छ । जस अनुसार ३० लाखभन्दा बढि नेपाली अहिले रोजगारीका लागि विदेशमा रहेको मानिन्छ ।

तर योभन्दा निकै ठूलो संख्यामा नेपालीहरु कामका लागि विदेशमा रहेको अनुमान गरिन्छ । श्रमका लागि नेपाली जानेमा खाडी मुलुकहरु, मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिकालगायत पर्दछ ।

तर खाडी, मलेशिया जस्ता मुलुकमा भने नेपालीलाई निकै जोखिमयुक्त श्रममा लगाइन्छ भने श्रमका लागि जाने नेपालीहरु शोषणमा पनि उत्तिकै पर्ने गरेका छन् ।

आप्रवासी कामदारले भित्र्याएको रेमिट्यान्सले ने मुलुकको अर्थतन्त्र थेगिएको भएपनि सरकारले पनि सुरक्षित र स्वाभीमानयुक्त श्रमका लागि भनेजत्ति काम नगरेको गुनासो बढिरहेको छ ।

रोजगारदाताबाट कामदारले पारिश्रमिक नपाउने या समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार पनि नदिइने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्क गर्न रोक लगाउने र बेचबिखनमा पर्ने जस्ता ठूला मानवीय समस्या यस क्षेत्रमा देखिएका मूख्य चुनौति हुन् ।

 

प्रतिक्रिया दिनुहोस्