Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


वैकल्पिक नाका खोल्नु अघि चीनले माग्यो सुरक्षा र एक चीन नीतिमा भरपर्दो प्रत्याभूति


0
Shares

सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी–केरुङ बाहेक अन्य नाकालाई व्यापारिक प्रयोजनका लागि खुलाउन चीनले भरपर्दो सुरक्षा प्रत्याभूति मागेको गृह मन्त्रालय उच्च स्रोतले बतायो ।

नाका जोड्ने नेपाल तर्फको सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउन चीनले आग्रह गरेको छ । विनाशकारी भूकम्पपछि तातोपानी नाका पूर्ण रूपमा ठप्प छ भने रसुवागढी–केरुङ पूर्वाधार चुस्त नहुँदा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।

नेपाल तर्फको सडक सञ्जाललाई नाकासम्म पु¥याउन सके चीनसँग १ दर्जन बढी नाकालाई व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गर्न सकिन्छ । तातोपानी सञ्चालनमा नआउँदा वार्षिक सरदर २० अर्बको कारोबार बन्द भएको सरकारी अधिकारीहरू बताउँछन् ।

नेपाल–चीन १ हजार ४३९ किमि क्षेत्रभित्र दुवै मुलुकका नागरिक परिचयपत्र देखाएर ३० किमि वारपार गर्नपाउने सन्धी–सम्झौतामा उल्लेख भए पनि स्वतन्त्र तिब्बतका नाममा हुने सम्भावित गतिविधि नियन्त्रणमा चालिएका कदमप्रति आस्वस्त नहुँदा उक्त सुविधाबाट नेपाली पक्ष वञ्चित हुँदै आएको छ ।

बिहीबार मात्रै सभामुख ओनसरी घर्तीको निमन्त्रणामा चीनको स्वशासित क्षेत्र तिब्बतका प्रशासनिक प्रमुख बाई मा चिलिमको नेतृत्वमा उच्च स्तरीय चिनियाँ अधिकारी ६ दिने नेपाल भ्रमणमा आएका छन् ।

बिहीबार (आज) बाट राजनीतिक भेटवार्ता अघि बढाउने तयारीमा रहेको प्रतिनिधिमण्डलले बुधवार साँझ नेपालका लागि चिनिया राजदूतसँग पछिल्लो बस्तुस्थितिबारे जानकारी लिएको उच्च स्रोतले बतायो ।

६ दिनसम्म नेपालमा रहने उक्त उच्चस्तरीय टोलीले राजनीतिक भेटवार्ताका अलवा बैकल्पिक नाका सञ्चालन तथा उत्तरी सीमाको सुरक्षामा केन्द्रित रहेर राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । –कारोबार दैनिकबाट