
पोखरा–२४ कृस्तिनाच्ने चौरबाट बिहान छुटेको ग१ख ३१२२ नम्बरको बस शिवालयचोकबाट फर्काउनेक्रममा सडकबाट १३२ मिटर तल जंगलमा खसेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको छ भने पाँचजनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको तथा बाँकी उपचारपछि घर फर्किसकेको बताइएको छ ।
अधिकांश घाइतेको टाउको, हातखुट्टालगायत शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ ।
बस फर्केपछि चढ्नुपर्ला भनी बाटोमा कुर्दै बसेका प्रत्यक्षदर्शी छोरेपाटन मावि–११ का सविन पौडेलले हेर्दाहेर्दै आँखा अगाडि बस जंगलमा खसेको बताउँदै दुर्घटनाको अवस्था हेर्दा मानवीय क्षति कम भएको जानकारी दिए ।
घटना हुनासाथ च्यापिएका बसका चालक र अर्का एक व्यक्तिलाई स्थानीयबासीले तत्काल उद्धार गरेका थिए । गाडीका चालक र सहचालक गम्भीर घाइते छन् ।
उपचारमा आएकामध्ये पाँचजनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्