बोर्डमाथि नेप्सेको यस्तो आरोप, ४१ ब्रोकरलाई शाखा विस्तार गर्न दिन बोर्डमा पत्राचार « Image Khabar


बोर्डमाथि नेप्सेको यस्तो आरोप, ४१ ब्रोकरलाई शाखा विस्तार गर्न दिन बोर्डमा पत्राचार


Imagekhabar
१२ पुष २०७३, मंगलवार १९:०८

नेप्सेले नियामक निकाय धितोपत्र बोर्डको कार्यक्षमतामा नै प्रश्न उठाएको छ ।

नेप्सेले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी बोर्डकै कारण पूर्णस्वचालित अनलाइन ट्रेडिङ प्रणाली कार्यान्वयनमा ढिलाइ भएको आरोप लगाएको छ ।

नेप्से सन्चालक समितिका अध्यक्ष रामजी रेग्मीले पूर्णस्वचालित प्रणालीमा कारोबार गर्न सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ‘वाई’ कम्पनी छनोट भएपनि बोर्डको कारण उक्त कम्पनी अदालत गएको र प्रक्रियामा ढिलाइ भएको बताए ।

ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न दिने वा थप ब्रोकर कम्पनीको अनुमति दिने विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलमा बोर्डले सदस्य नराखेर असहयोग गरेको आरोप पनि नेप्सेले लगाएको छ ।

नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले प्रविधि सुधारमा नेप्से प्रतिबद्ध रहेको दाबी गरे ।

उनले बैंकहरुलाई सेयर ब्रोकरको कारोबार गर्न दिन हुने/नहुने विषयमा थप अध्ययन गर्न उपसमिति गठन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको बताए ।

यस्तै, नेप्सेले ‘रिमोट वर्क स्टेसन’ कारोबार नगरेका ४१ ओटा ब्रोकर कम्पनीलाई उपत्यकाबाहिर मुख्य सहरहरुमा पनि कारोबार गर्न अनुमति दिन बोर्डलाई पत्राचार गरेको जनाएको छ ।

यसअघि ९ ओटा कम्पनीलेमात्रै उपत्यकाबाहिर कारोबार गर्दै आएका छन् । ४१ ओटा कम्पनीले १५ ओटा स्थानमा शाखा विस्तार गर्न नेप्सेमा पत्रचार गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्