
कैलाली, असार २२ । कैलालीको गौरीगंगा नगरपालिका–११, जरही–कटानगाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई शुक्रबार सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विकको बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विनोद घिमिरेले युवतीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिए ।
असार १२ गतेदेखि हराइरहेकी विकलाई उनका आफन्त र प्रहरीको प्रयासमा खोजतलास गर्दा चपरथली सामुदायिक वन क्षेत्रमा तीन दिनपछि मृत फेलापारिएको हो ।
‘तीनजनाले पालैपालो करणी गरिसकेपछि चौथोले करणी गर्दैगर्दा उनले प्राणत्याग गरेको अनुसन्धानबाट खुलेको देखिन्छ’–प्रहरी उपरीक्षक घिमिरेले भने–‘घटनाअघि असार ८ गते मुख्य योजनाकार गणेश बडुवालले युवतीसँग यौनसम्बन्ध राख्ने प्रस्ताव गरेकामा युवतीले अस्वीकार गरेकी थिइन् ।’
दुई हात बाँधिएको, मुखमा कपडाले बाँधिएको र निवस्त्र अवस्थामा युवतीको शव फेलापरेको हो ।
घटनाको अनुसन्धानकाक्रममा प्रहरीले मृतकको साइकल र एकथान मोबाइल बरामद गरेको छ ।
प्रेमीसँग मिलेर श्रीमान्को हत्या
यस्तै, पत्रकार सम्मेलनमा पूर्वप्रेमीसँग मिलेर श्रीमान्को हत्यामा संलग्न कन्चनपुर, पुनर्वास नगरपालिका–२ की २२ वर्षीया लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिका–१० का दीपक खत्रीलाई पनि सार्वजनिक गरिएको छ ।
कैलाली गोदावरी नगरपालिका–११ माइतीघर भएकी लक्ष्मीलाई घर ल्याउन भनी गएका निजका श्रीमान् तेजबहादुर विष्ट उतैबाट बेपत्ता भएकामा घटनाको अनुसन्धानकाक्रममा श्रीमती लक्ष्मी र उनका प्रेमी खत्रीले धनगढी–डडेल्धुरा राजमार्गको भासुको भीरमा विष्टलाई पुर्याइ कुटपिट गरी भीरबाट खसालेर हत्या गरेको पत्ता लागेको जनाइएको छ ।
मृतकको शव र उनले प्रयोग गरेको मोटरसाइकल असार १२ गते भीरमा फेलापरेको थियो ।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुर गाउँमा दुई दिनअघि आफ्नै श्रीमती गर्भी चौधरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका उनका श्रीमान् इन्द्रबहादुर चौधरीलाई पनि सार्वजनिक गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्