प्रहरी महानिरीक्षक बन्न आकांक्षीको दौडधूप, को होला ‘भाग्यमानी’ ?(भिडियो हेर्नुहोस) • Image Khabar Image Khabar


प्रहरी महानिरीक्षक बन्न आकांक्षीको दौडधूप, को होला ‘भाग्यमानी’ ?(भिडियो हेर्नुहोस)


Imagekhabar
१७ माघ २०७३, सोमबार १७:५०

प्रहरी महानिरीक्षक बन्न आकांक्षीको दौडधूप, को होला ‘भाग्यमानी’ ?(भिडियो हेर्नुहोस)

-गृष्मा राजभण्डारी, ईमेज

यही नेतृत्व परिवर्तनको मुखमा रहेका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वमा को आउँला भन्ने कौतूहलता पनि थपिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ११ जना एआईजीले फागुन १ गते ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाश पाउने भएपछि प्रहरीमा नयाँ नेतृत्वको खोजी भएको हो ।

यसैगरी सशस्त्र प्रहरीमा पनि हालका महानिरीक्षक दुर्जकुमार राईले अनिवार्य अवकाश पाउने भएपछि त्यहाँ पनि नेतृत्वको आकांक्षीहरु सलबलाएका छन् ।

नेपाल प्रहरीमा भने आईजीपीसँगै एआईजीहरुले पनि एकसाथ अवकाश पाउने भएपछि अब एकैचोटी प्रहरी नायव महानिरीक्षक अर्थात् डिआइजी मध्येबाट एकजनाले संगठनको नेतृत्व गर्ने छन् ।

अर्थात् प्रहरी महानिरीक्षकमा बन्ने छन् । यसरी डीआईजीबाटै आईजीपी हुने दौडमा छन्, २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका चार जना समकक्षी ।

जसमा डिआइजी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् । तर आईजीपीको पद एउटा मात्र भएकाले संगठनको उपल्लो तहमा पुगेर भाग्य र कर्म अज्माउने दाउमा चारै जना जुटेका छन् ।

तर आइजिपी बन्ने मौका एउटाले मात्र पाउने भएकाले त्यसमा को पर्ला भन्ने कौतूहलता बढेको हो । संगठनमा प्रवेश गर्दादेखि बढुवा हुँदाको ज्येष्ठता र कार्यदक्षता यस्ता पदमा उक्लन स्वाभाविक योग्यता हुन् ।

तर नेपाल प्रहरीमा आईजीपी हुन यी योग्यता मात्र नभई राजनीति पनि दाहिना हुनुपर्ने थुप्रै परिघटनाहरुले देखाएका छन् । र त नेतृत्व चाहनेहरु नेताको घर, कार्यालय र चोटा–कोठा पुग्ने गरेका छन् ।

सार्वजनिक कार्यक्रम हुँदा सांगठनिक पोशाकमै देखिनु र अरु समयमा निजी पोशाकमा झुल्किनु उनीहरुको बाध्यता नै जस्तो हुन्छ नै ।

सरकारको नेतृत्वकर्ता, विभागीय मन्त्री मात्र होइन, मूख्य राजनीतिक दलको चाहना पनि प्रहरी महानिरीक्षक आफू अनुकूल ल्याउनेमा हुन्छ ।

अझ निर्वाचनको वरीपरी आईजीपी बनाउनु छ भने त आगामी निर्वाचनमा आफूलाई सघाउने खालको व्यक्तिलाई उक्त पदमा पु¥याउने खेल नेताहरुले खुबै गरेको देखिएको छ ।

त्यसैले यस पटक पनि एउटै ब्याचीका प्रतिष्पर्धी रहेकाले नेतृत्वमा पुग्न चाहनेमाथि राजनीतिक स्वार्थ पूरा गर्ने सौदाबाजी स्वीकार्नुपर्ने दबाब पर्न सक्ने दखिँदैछ ।

जेहोस्, आईजीपी बन्न त्यत्तिकै सहजचाहिँ छैन । जसका लागि संगठनभित्रको अध्ययन, अनुसन्धान र तालिमबाट निखार ल्याउनु अत्यन्तै जरुरी त छनै त्यसअलवा नागरिकस्तरमा घुलमिल, कानून र मानवअधिकार मैत्री अवधारणा जस्ता विषय पनि जोडिएर आउने गर्दछ ।

अहिलेका प्रतिष्पर्धी मध्ये डीआईजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान ब्यूरो, डीआईजी प्रकाश अर्याल महानगरीय ट्राफिक प्रहरी महाशाखा, जयबहादुर चन्द लागु औषध नियन्त्रण ब्यूरो र बमबहादुर भण्डारी प्रहरीको आतंकवाद हेर्ने विशेष ब्युरो सम्हालिरहेका छन् । 

प्रहरी ऐनले एआईजी नभएका बेलामा डीआईजी मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त उम्मेद्वारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्ने बाटो खोलेको छ ।

त्यसैले यिनै चार मध्येबाट योग्यतम व्यक्तिलाई सरकारले महानिरीक्षकमा नियुक्ति गर्ने हो । त्यसैले त चारै जना प्रतिष्पर्धी राजनीतिक लबिङदेखि समाचार माध्यम र सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्