Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


सोलिडारिटी कप विजेता फुटबल खेलाडीलाई सरकारले दियो तीन/तीन लाख


0
Shares

गत कात्तिकमा मलेसियामा सम्पन्न सोलिडारिटी कपको उपाधि जितेको टोलीका खेलाडी, प्रशिक्षक तथा अधिकारीहरुलाई नेपाल सरकारका तर्फबाट सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले नगदसहित सम्मान गरेका हुन् ।

फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै नेपाली फुटबल इतिहासमै पहिलोपटक एएफसीको आधिकारिक प्रतियोगिता जितेको नेपाली टोलीका खेलाडीहरुलाई सरकारले त्यतिबेलै जनही तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।

सम्मान घोषणा भएको करिब चार महिनापछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले सरकारले गरेको सम्मानले खेलाडीहरुलाई राम्रो खेल प्रदर्शन गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।

गुरुङले भूकम्पका कारण देशको एकमात्र अन्तराष्ट्रियस्तरको दशरथ रंगशाला क्षतिग्रस्त अवस्थामा रहेका कारण आसन्न एसिया कप छनोट प्रतियोगिताअन्तर्गत् नेपालले घरेलु मैदानमा खेल्न पाउने खेलहरु नहुने सम्भावना बढेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले दशरथ रंगशालाको पुनःनिर्माणमा सरकार गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।