१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024


१४ औं शताब्दीको सुरुङमार्ग प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा


0
Shares

म्याग्दी, असार २२ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँमा रहेको ऐतिहासिक सुरुङमार्ग ओझेलमा परेको छ ।

१४ औं शताब्दीको सुरुङमार्ग प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । बाइसे/चौबिसे राज्यअन्तर्गत तात्कालीन राजा डिम्व मल्लले शत्रुहरुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरङमार्ग पर्यटकहरुका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने स्थानीयले बताएका छन् ।

सुरुङमार्गको लम्बाई करिब ५० मिटर छ । गुफाको पूर्वतर्फ करिव ७० मिटरको दुरीमा तत्कालीन कुहँुले राजाको राजधानी रहेको थुमाको अवशेषमात्र बाँकी छ । सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज ३ मिनेटसम्म सुन्न सकिने स्थानीय बताउँछन् ।

सुरुङको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमश्रृङ्खला र वनजङ्गलको मनमोहक दृश्य देखिन्छ । सुरुङको भित्रितर्फको मध्यभाग दुईतिर फैलिएको छ । पूर्व—पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार छ ।

सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको पहिचान बन्ने स्थानीय बताउँछन् ।