२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उत्तर कोरियाली शासक किमका सौतेला दाजुको मलेसियामा हत्या


0
Shares

दक्षिण कोरिया र मलेसियाली स्रोतलाई उद्धृत गर्दे बीबीसीले ४५ वर्षीय किम जोङ नामको विमानस्थलमा हत्या भएको जनाएको हो ।

मलेसियाली प्रधानमन्त्रीको कार्यालयसँग निकट रहेको स्रोतले किम क्वालालाम्पुरमा मारिएको र उनको शव पोस्टमोर्टम गर्न लागिएको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाको केबल टेलिभिजन टीभी चोसुनले भने किमलाई दुईजना महिलाले विमानस्थलमा विष दिएर मारेको र घटनाको पछाडि उत्तर कोरियाको संलग्नता रहेको दाबी गरेको छ ।

किमको परिवारसँग नजिक रहेको बेलायती स्रोतले भने उनको मृत्युमा विषको संलग्नता रहेको बीबीसीले उल्लेख गरेको छ ।

किम जोङ नाम उत्तर कोरियाका पूर्वनेता किम जोङ इलका जेठो छोरा हुन् । उनी सन् २००१ मा जाली पासपोर्ट लिएर जापान प्रवेश गर्न लाग्दा पक्राउ परेका थिए ।

कुनै समयमा उनी किम जोङ इलको उत्तराधिकारीको रुपमासमेत हेरिएका थिए । तर, किम जोङ इले आफ्ना कान्छा छोरा किम जोङ उनलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए ।

किम जोङ नाम धेरै समय मकाउ, सिंगापुर र चीनमा बस्दै आएका थिए । (एजेन्सी)