
उनले इजरायल र प्यालेस्टाइनको द्वन्द्व समाधानमा दुई राष्ट्रको नीतिको कुनै विकल्प नभएको बताए ।
अमेरिकाले वर्षौंदेखि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेकोविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उभिएपछि राष्ट्रसंघका महासचिव गुटेरेसको यस्तो भनाइ सार्वजनिक भएको हो ।
यसअघि, ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताएका थिए ।
आफूले दुई राष्ट्रको साटो एक राष्ट्रकारुपमा देखिरहेको भन्दै उनले एक बृहत् शान्ति–सम्झौता गराउने र त्यसका लागि दुबै पक्षलाई तयार हुन सुझाव दिए ।
ट्रम्पले विवादित क्षेत्रमा नयाँ भवन बनाउने काम केही समयका लागि बन्द गर्न पनि आह्वान गरे ।
गएको महिनामात्र ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै इजरायलले पश्चिमी किनारा र पूर्वी जेरुसलममा हजारौ घर बनाउन स्वीकृत दिएको थियो । इजरायल र प्यालेस्टायनबीच सन् २०१४ देखि वार्ता हुन सकेको छैन ।
इजरायल र प्यालेस्टायनबीच दशकौंको संघर्ष समाधानका लागि दुई पक्षका नेता र अन्तर्राष्ट्रिय समुदायले दुई राष्ट्र सिद्धान्तलाई आफ्नो घोषित लक्ष्य बनाएका थिए ।
यसै आधारमा पश्चिमी किनारा, गजापट्टी र पूर्वी जेरुसलममा सन् १९६७ को युद्धविराम रेखाभन्दा पहिलाको क्षेत्रमा एक स्वतन्त्र प्यालेस्टायनी राष्ट्र बनाइने र उसले इजरायलसँग शान्तिपूर्ण सम्बन्ध बनाउने भन्ने थियो ।
यसमा संयुक्त राष्ट्रसंघ, अरब लिग, युरोपीय युनियन, रुस र अमेरिकाले पटक–पटक आफ्नो प्रतिबद्धता जनाएका थिए । तर, अहिले ट्रम्पले उक्त नीतिबाट पछि हट्ने संकेत दिएका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्