१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


काभ्रेमा पुनर्निर्माणको काम सुस्त, पीडितले पहिलो किस्ता नै पाएनन्(भिडियो)


0
Shares

-राजाराम गौतम, ईमेज

घर बनाउन भन्दै भूकम्प प्रभावितले पहिलो किस्ताको रकम लगेपनि दोस्रो किस्ताको रकम लिन आएका छैनन् ।

भूकम्प गएको २ वर्ष पुग्न लागि सक्दा पनि काभ्रेमा भूकम्प प्रभावितको अवस्थामा अझै पनि उल्लेख्य सुधार हुन सकेको छैन ।

भूकम्पपछि विषेश गरी वृद्ध र बालबालिका, सुत्केरी महिला बढी मर्कामा परेका छन् भने विद्यार्थीको पठन पाठनमा पनि समस्या देखिएको छ । भूकम्पपछि सरकारले भने जसरी पुनर्निर्माणले गति लिएको पाइएको छैन ।

पुनः निर्माणको लागि प्रयोग हुने सामाग्रीको महंगी र कमजोर आर्थिक अवस्थाको कारण पनि घर बनाउन नसकिएको भूकम्प प्रभावितहरु बताउँछन् ।

भूकम्पपछि सरकारले बाँडेको पहिलो किस्ता बापतको ५० हजार रकम काभ्रेमा अझै बाँडी सकिएको छैन ।

काभ्रेको भुम्लुटार र फँलाटे गाविसमा आएको लालपुर्जा विवादका कारण रकम बाँड्न नसकिएको अवस्थामा बल्ल अहिले आएर सरकारले जारी गरेको अनुदान वितरण कार्यविधि २०७३ अनुसार अनुदान वितरणको लागि बाटो खुलेको छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा कुल ६७ हजार ७ सय ११ जना भूकम्प प्रभावितको नाम सुचीकृत गरिएकोमा ६२ हजार २१ जनाले मात्र सम्झौता गरेका छन् भने त्यसमा पनि कूल ६१ हजार २ सय ७४ जनाले मात्र पहिलो किस्ताको रकम ५० हजार लगेका छन् ।

भूकम्प प्रभावितको सूचीमा नाम नपरेका कारण गुनासो भर्नेको संख्या २१ हजार रहेको छ । जसमा ८ हजारको नाम सुनुवाई भएर फेरि सूचीमा समावेस गरिएको छ भने बाँकीको पनि छानविन तथा समावेस हुने काम जारी छ ।

पहिलो किस्ताको रकम प्रदान गरिएको लामो समय भैसक्दा पनि दोस्रो किस्ताको रकम बुझ्न भने हालसम्म कोही नआएको जिल्ला प्राविधिक कार्यालय आयोजना कार्यान्वयन ईकाई काभ्रेका प्रमुख लोकनाथ रेग्मी बताउँछन् ।

भूकम्प प्रभावितसँग सरकारले गरेको सम्झौतामा पहिलो किस्ता ५० हजार रकम लगिसकेपछि डिपिसि लेभलसम्मको काम सकेपछि सरकारले पठाएका ईन्जिनियरले सिफारिस गरेपछि मात्र दोस्रो किस्ताको रकम प्रदान गरिन्छ ।