
-डिल्लीराज पन्त, ईमेज
हात्ती धपाउन स्थानीयले रातभर खेतमै आगो बालेर होहल्ला गर्ने गरेका छन् । हात्ती भगाउने भरपर्दो उपाय नभएपछि स्थानीय त्रसित हुँदै गएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटा क्षेत्रमा जंगली हात्तीले लगातार दुःख दिने गरेको छ ।
सिमावर्ती भारतीय जंगल र शुक्लाफाँटा आरक्षबाट आएका जंगली हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । बागफाटा गाउँ त एक उदाहरण मात्रै हो ।
कञ्चनपुरको दक्षिणी भेग बेल्डाडी, बेलौरी, त्रिभुवन बस्ती, रैकवार विचवा, झलारी, बागफाटा, पिपरीया, गोबरिया, दोधारा–चाँदनीलगायत ठाउँमा बासिन्दाको दैनिकी हात्ती धपाउनमै बितेको छ ।
बाली पाक्ने बेलामा हात्ती आएर नष्ट गरिदिने भएकाले उनीहरु रातभर जाग्राम बसेरै हात्ती धपाउन बाध्य हुँदै आएका छन् ।
शुक्लाफाँटा आरक्षबाट आउने करिब २५/३० वटाको हात्तीको समूहले लामो समयदेखि किसानले लगाएको गहुँबाली र तरकारी नष्ट गर्दै आएको छ ।
गाउँनजिकै आरक्ष भए पनि हात्तीलाई गाउँ पस्न नदिने गरी तारबारको व्यवस्था नभएका कारण स्थानीय आतंकित हुँदै आएका छन् ।
हात्ती नियन्त्रणका लागि जिल्ला वन कार्यालयले योजना निर्माण गरे पनि योजना कागजमै सिमित भएको छ ।
हात्ती आतंक हुँदासमेत सम्वन्धित निकायले बेवास्ता गरेको र नियन्त्रणको ठोस पहल नगरेको गुनासो स्थानीयको छ ।
तर जिल्ला प्रशासन कार्यालयले भने हात्ती नियन्त्रणका धेरै उपाय अबलम्बन भइरहेको दाबी गरेको छ ।
विद्युतीय तारले मात्र हात्ती रोक्न सकिने भएकाले केही ठाउँमा तार लगाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए ।
उनले सुरक्षा गस्ती बढाउने, पटाका वितरण गर्नेलगायतका काम पनि आफूहरुले गरिरहेको जानकारी दिए ।
कञ्चनपुरका विभिन्न गाउँमा बस्नेहरु लामो समयदेखि हात्तीबाट पीडित हुँदै आएका छन् ।
हात्तीले वर्षैपिच्छे लाखौंको धनमाल नष्ट गर्ने गरेको छ । तर सरकारले हात्ती नियन्त्रण गर्ने प्रभावकारी कदम नचाल्दा स्थानीय पीडित बन्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्