दक्षिण एसियाका युवामा उग्रवादप्रति आकर्षण बढ्दै गएको विज्ञको दाबी • Image Khabar Image Khabar


दक्षिण एसियाका युवामा उग्रवादप्रति आकर्षण बढ्दै गएको विज्ञको दाबी


Imagekhabar
१७ फाल्गुन २०७३, मंगलवार ०६:२२

दक्षिण एसियाका युवामा उग्रवादप्रति आकर्षण बढ्दै गएको विज्ञको दाबी

सेन्टर फर साउथ एसियन स्टडिजद्वारा सोमबार आयोजित सेमिनारमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र मालदिभ्सका विज्ञले उग्रवादको खतरा औँल्याएका हुन् । विकराल बन्न लागेको यो समस्या समाधान गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा रणनीति बनाउनुपर्ने उनीहरूको सुझाब छ ।

भारतीय सेनाका पूर्वमेजर जनरल दीपंकर बनर्जीले दक्षिण एसियाका युवामा उग्रवादीकरणको गम्भीर असर देखिन थालेको बताए । ‘यो क्षेत्रमा आतंकवादमार्फत उग्रवादतर्फ युवाको आकर्षण बढेको देखिएको छ,’ बनर्जीले भने, ‘अशिक्षा तथा गलत शिक्षा प्रणाली, धर्म र संस्कृतिको प्रभाव, पाकिस्तान र अफगानिस्तानमा यो समस्या विकराल देखिएको छ ।’ उनले समाजमा हिंसा तथा हिंसात्मक सोचको निर्मूल गर्नुपर्ने पनि बताए ।

अफगानिस्तानको विदेश मन्त्रालयअन्तर्गतको सेन्टर फर स्ट्राटेजिज् स्टडिजका महानिर्देशक डा फरामार्ज तमन्नाले दक्षिण एसियाका युवा जोखिमपूर्ण अवस्थामा रहेको बताए । ‘ऐतिहासिक भूराजनीतिक पृष्ठभूमि, सामाजिक अन्तरविरोध, गरिबी, नकारात्मक चिन्तनका कारण युवाहरू उग्रवादी भइरहेका छन्,’ तमन्नाले भने, ‘यो जटिल विषय भएकाले सामना गर्न त्यहीअनुसारको रणनीति तय हुनुपर्छ ।’

श्रीलंकाको रक्षा मन्त्रालयअन्तर्गतको इन्स्टिच्युट अफ नेसनल सेक्युरिटी स्टडिजका महानिर्देशक असंगा अबेयागुणेसेकेराले आफ्नो देशको सरकारले अलगवादी आन्दोलनमा लागेका पूर्वलडाकुलाई पुनर्स्थापनको प्रयास गरिरहेको बताए । श्रीलंकाकै लक्ष्मण कादिरगामर इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्स एन्ड स्ट्राटेजिक स्टडिजका रिसर्च एसोसिएट अनिस्का डिज्याल्भाले श्रीलंकामा युवाहरू उग्रवादीबाट सामान्य जीवनमा फर्किन थालेको जानकारी दिइन् । युद्धमा सहभागी भएका लिट्टेसमर्थित ११ हजार पूर्व लडाकुलाई शिक्षा, तालिम, सकारात्मक चिन्तन, मनोवैज्ञानिक परामर्श, सामाजिक–सांस्कृतिक प्रशिक्षण दिइएको उनले बताइन् ।

उग्रवादीकरणको समस्या एउटा देशको मात्र नभएको उल्लेख गर्दै उनले क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपबाटै समाधान खोज्नुपर्ने औँल्याइन् ।

बंगलादेश इन्स्टिच्युट अफ पिस एन्ड सेक्युरिटी स्टडिजका रिसर्च फेलो सफ्कत मुनिरले इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगका कारण युवा उग्रवादतर्फ आकर्षित भएको बताए । फेसबुक, ट्विटर, युट्युबलगायतको दुरुपयोग भएको उनको भनाइ थियो ।

उनका अनुसार सन् २०१६ मा बंगलादेशमा फेसबुक प्रयोगकर्ता दुई करोड र ट्विटर प्रयोगकर्ता पाँच लाख छन् । ‘इन्टरनेटमार्फत युवाहरू आफैँ उग्रवादतर्फ आकर्षित भएका छन्,’ मुनिरले भने ।

बंगलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्राटेजिक स्टडिजका रिसर्च फेलो आशिक रहमानले युवाहरू उग्रवादी क्रियाकलापमा सहभागी र सिकार दुवै भएको बताए । तर, बंगलादेशमा कानुन कार्यान्वयन गर्ने निकाय र सरोकारवालाबीच समन्वय नभएको उनको भनाइ थियो ।

जेनेभाका लागि पूर्वनेपाली राजदूत डा. शम्भुराम सिंखडाले भोको पेट र असन्तुष्ट दिमाग रहेसम्म युवा उग्रवादतर्फ आकर्षित हुने बताए । पहिचानको राजनीतिका नाममा पनि यसले स्थान पाएको उनको भनाइ थियो ।

जम्मुस्थित सेन्ट्रल युनिभर्सिटीका नेसनल सेक्युरिटी स्टडिज डिपार्टमेन्ट प्रमुख डा. मल्लिका जोसेफले दक्षिण भारतका युवा आइएसआइएसतर्फ आकर्षित भएको तथ्यांक सार्वजनिक गरिन् ।

पाकिस्तानको काइद ए आजम युनिभर्सिटीको डिपार्टमेन्ट अफ डिफेन्स एन्ड स्ट्राटेजिज्की सबाना फयाजले पाकिस्तानका युवामा पनि रेमिट्यान्सका कारण अरब देशहरूबाट उग्रवादीकरणको प्रभाव परेको बताइन् । उनले भनिन्, ‘दक्षिण एसियामा खुला बहस हुँदैन, जबर्जस्त माइन्डसेट तयार गरिएको छ, युवाहरू उग्रवादतर्फ आकर्षित हुनुको कारण यो पनि हो ।’

नेपाल सशस्त्र प्रहरीका पूर्वएआइजी रविराज थापाले दक्षिण एसियामा उग्रवादीकरणको ठूलो खतरा बढ्दै गएको बताए । ‘नरम उग्रवादीकरण र कडा उग्रवादीकरण दुवै विचारधारा बढिरहेका छन्, सरकार र जनताका बीचमा लिंक छैन, बीचका दलालहरू हाबी छन्,’ थापाले भने, ‘नेपालमा विद्यार्थीले प्रोफेसरमाथि शासन गरिरहेका छन् ।’

माल्दिभ्सको मिहारु समाचार एजेन्सीका वरिष्ठ सम्पादक एमिनाथ सिफलिनले साउदी अरब, इजिप्टसहित अरब मुलुकबाट माल्दिभ्समा पनि उग्रवाद भित्रेको बताइन् । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्