
काठमाडौं, फागुन १७ । बुधबार हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव शुक्रबार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
पहिचानका लागि फोटोसहित लहरै राखिएका शवमा एकपछि अर्को गर्दै श्रद्धाञ्जलि दिन पुगेकाहरुको दृष्य भने निकै हृदयविदारक थियो ।
मृत्यु शाश्वत सत्य । जन्मदै मानिसले सँगै लिएर आएको अन्तिम सत्य । मृत्यु सधैं पीडादायी हुन्छ नै । अझ असामयिक निधनले निम्त्याउने पीडा त असह्य नै हुन्छ ।
यस्तै भयो, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पनि । नियतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार सातैजनाको एउटै दुर्घटनामा निधन भयो ।
बुधबारको अकल्पनीय दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जलि दिन टुँडिखेल पुगेका जो–कोहीको भावभंगीले यस्तै बताइरहेको थियो ।
ताप्लेजुुङबाट ल्याएर पोस्टमार्टम गरेपछि श्रद्धाञ्जलिका लागि राखिएका शव रहेको बाकसमा एकपछि अर्को गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
जलेर चिन्नै नसिकने अवस्थामा पुगेका कारण शवसँगै मृतकको फोटोपनि राख्नुपरेको थियो । यसले झन् दुर्घटनाको भयावह प्रकृतिलाई सम्झाइरहन्थ्यो ।
आफन्तहरुले आफ्ना प्रियजनको अन्तिम एक झल्को अनुहारपनि हेर्न नपाउँदाको पीडा वर्णन गर्न नसकिने थियो ।
कति भक्कानिएर डाँको छोडी रोइरहेका थिए भने कोही मन थाम्न नसकिने अवस्थाबाट आफूलाई बाहिर निकाल्न खोजिरहेका थिए । तर, पीडाको घडीमा यो सम्भव थिएन सायद, आंखाबाट बगिरहेका आँशुले यही बताइरहेको थियो ।
हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको भावभिह्वल परिवारजनको यस्ता मार्मिक दृश्यले जो–कोहीको आँखा रसाउँथ्यो ।
श्रद्धाञ्जलिका लागि टुँडिखेल पुगेकाहरु शोकमा त थिए नै दुःखमा डुबेका परिवारजन र आफन्तको रोदनको कारुणीय दृश्यले वातावरण झन् पीडादायी बनाएको थियो ।
आफूलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेका शोकाकुल परिवारजनले अरुलाई सम्हाल्नु पर्दाको क्षण थप कारुणिक बनेको थियो, टुँडिखेलमा ।
प्रतिक्रिया दिनुहोस्