
तस्वीर : रासस
काठमाडौं, फागुन १७ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव परीक्षणको कार्य सकिएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा गएराती साँढे १ बजे सातै जनाको शव परीक्षणको कार्य सम्पन्न भएको अस्पताल स्रोतले जानकारी दियो । शव परीक्षणको काम हिजो दिउँसो साढे २ बजेदेखि सुरु भएको थियो ।
चिकित्सकहरुको टोलीले एकछिन पनि आराम नगरी शव परीक्षणको काम सकाएको हो ।
मन्त्री अधिकासहित सातै जनाको शव आज बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरुले श्रद्धाञ्जलि दिनेछन् ।
श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने र अन्य मृतकको शव आफन्तजनलाई जिम्मा लगाईनेछ ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्