
काठमाडौं, फागुन १६ । तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सपना अधुरै रह्यो । तीन वर्षभित्र बनाइसक्ने गरी अन्तिम सर्वेका लागि बुधबार अपराह्न चुहानडाँडा पुगेका मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री केपी ओलीको जन्मगाउँमा विमानस्थल बनाउने सपना अधुरै रहेको हो ।
चुहानडाँडामा बुधबार बिहान ११ बजेदेखि करिब ४५ मिनेटसम्म भएको औपचारिक कार्यक्रम नै अधिकारीको अन्तिम कार्यक्रम बन्न पुग्यो । एकदमै हतारमा छोटो सम्बोधन गरेका उनले चुहानडाँडामा विमानस्थल बनाउन प्रधानमन्त्रीको समेत इच्छा रहेकाले ‘चाँडै यहाँबाट हवाईजहाज उड्ने’ बताएका थिए ।
कार्यक्रममा सहभागी आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपा कन्दङवाले मन्त्री अधिकारी एकदमै हतारमा रहेको बताइन् । ‘म आज एकदमै हतारमा छु, सबैले बोल्न समय छैन, म पनि थोरै कुरा बोल्छु…,’ मन्त्री अधिकारीको भनाइ उदृत गर्दै कन्दङवाले सुनाइन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्